Logo
१३ बैशाख २०८१, बिहीबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय गणतन्त्र नेपाल : गोरखामा पृथ्वीनारायण शाहलाई सेनाले हरेक दिन ‘सलामी’ दिने

पृथ्वीनारायण शाहको जन्मस्थल हालको गण्डकी प्रदेश स्थित रहेको गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ ।

यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा भने अब हरेक दिन अर्पण गर्ने गरी सुरु गरिएको हो ।

नेपाल राष्ट्रको गैरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालीन रुपमा जीवन्त राख्न तथा पृथ्वीनारायण शाहको उचित सम्मान दिने उद्देश्यले सलामी कार्यक्रमको थालनी गरिएको नेपाली सेनाले जनाएको छ ।

सलामी अर्पण कार्यको थालनीका लागि गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च उचाइको पूर्णकदलको सालिक निर्माण गरिएको छ ।

सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको छ । पृथ्वीजयन्तीको अवसरमा बुधबार सालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे ।

सोही अवसरमा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको पनि शुभारम्भ गरिएको छ । राष्ट्रिय झण्डाको झण्डोत्तोलन र मनोग्रामको उद्घाटनसमेत सोही अवसरमा भएको छ ।

सालिक, मनोग्राम र नेपालको झण्डा स्थापनाका लागि २१ लाख खर्च भएको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइमा सालिक निर्माण सम्पन्न भएको हो ।

ठूलो आँगनमा शार्दुल जंग गुल्मबाट नफ्री ११ को फौजले अब हरेक दिन ऐतिहासिक पोसाक तथा हातहतियार सजिएर दैनिक परेट प्रदर्शन गर्नेछ ।

पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने गरी कालो दौरसुरुवाल र परम्परागत हातहतियारमा सजिएका नेपाली सेनाले दैनिक सलामी अर्पणसँगै परेड प्रदर्शनी हुने छ ।

इतिहासको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रनिर्माता सलामीको अवधारणा ल्याएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज विष्टले बताए ।

इतिहासलाई जगेर्ना तथा प्रवर्द्धन गर्न, वाह्य र आन्तरिक पर्यटक भित्र्याउन उक्त अवधारणाले सघाउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले बताए ।

‘यस्तो कार्यक्रम विश्वका केही देशहरुले मात्र गरेको बुझेका छौँ,’ उनले भने, ‘नेपाल राज्य विस्तार अभियान सुरु भएको गोरखामा दैनिक नेपाली सेनाले परेड प्रदर्शन गर्दा देशभित्र मात्र नभएर विदेशी पर्यटकको समेत ध्यान पुग्ने विश्वास लिएका छौँ ।’ यसले इतिहासको सम्मान समेत हुने रानाले बताए ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्