Logo
१३ बैशाख २०८१, बिहीबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ । सरकारलाई समर्थन जनाएपनि भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो । माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।

सरकारमा सहभागिताका लागि आलोपालोको अड्को थापिरहेको माओवादी केन्द्रलाई अफठ्यारोमा पार्नका लागि कार्कीले सपथग्रहणका लागि हतार गरेको मुख्यमन्त्री निकट स्रोत बताउँछ । ‘माओवादीले थापेको अड्कोलाई चिर्न सुरुमै विश्वासको मत लिन खोजिएको हो’, स्रोतले भन्यो, ‘भागवण्डाको समस्याा पनि सामधान भइहाल्छ ।’

संसदको विजनेस सकेपछि केही दिन प्रदेशसभा बैठक स्थगित हुने उनले बताए । प्रदेशसभाका लागि चाडै विजनेश दिन विश्वासको अगाडि नै लिन खोजिएको उनले बताए ।

प्रदेश १ को सभामुखको निर्वाचन बिहीबार हुँदैछ । सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने र शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।

सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकाक्षी हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन् ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्