Logo
१५ चैत्र २०८०, बिहीबार
(January 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता शाहरुख खानको ‘पठान’, ‘जवान’ र ‘डंकी’ फिल्म आउँदै, ‘डंकी’मा अन्डरवाटर सिक्वेन्स

करिब चार वर्षदेखि फिल्मबाट टाढिएका अभिनेता शाहरुख खान सन् २०२३ मा एकपछि अर्को गर्दै तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ दर्शकमाझ ल्याउँदैछन् ।

शाहरुख ‘पठान’ रिलिजको लागि तयारी अवस्थामा छन् । यसै वर्ष अर्को फिल्म ‘डंकी’ पूरा गरेर दर्शकमाझ ल्याउन तयारीमा उनी जुटिसकेका छन् ।

शाहरुख पहिलोपटक बलिउडलाई कैयौं हिट फिल्म दिने निर्देशक राजकुमार हिरानीसँग सहकार्य गर्दैछन् । यो फिल्म साउदी अरबमा खिचिने पहिलो फिल्म हुनेछ ।

शाहरुख र अन्य बाँकी सदस्यले गत नोभेम्बरको मध्यमा मध्यपूर्व देशको यात्रा गरेर एक महत्वपूर्ण सेड्युलको सुटिङ पूरा गरेका थिए । अब फिल्म युनिट अर्को महत्वपूर्ण सिक्वेन्स खिच्न लागिपरेको छ ।

फिल्ममा शाहरुखले अन्डरवाटर सिक्वेन्स दिनेछन् । फिल्ममा उनको चरित्रअनुसार उनी एक पानीजहाजमा यात्रारत हुनेछन् । यही समयमा उनले पानीमुनि जानुपर्ने हुन्छ ।

जसका लागि उनले केही समय अन्डरवाटर सिक्वेन्सको तालिम पनि लिँदैछन् । फिल्मको कथाअनुसार कुनै विदेशी भूमिमा देखाइने यो सिक्वेन्सको छायांकन भने मुम्बईमा सेट बनाएर गरिनेछ ।

‘डंकी’को कथा अवैध तरिकाले आप्रवासीलाई सीमा पार गराउनेमा आधारित छ । फिल्ममा बोमन इरानी, तापसी पन्नुको पनि अभिनय छ । फिल्म २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ ।यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले १ सय करोड भारतीय रुपैयाँ लिएको खबर बाहिरिएको छ, उनको पारिश्रमिक अन्य दुई कलाकारको तुलनामा धेरै गुणाले बढी छ ।

फिल्मको निर्देशन भने सिद्धार्थ आनन्दले गरेका हुन् । उनले फिल्मका लागि ६ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।’पठान’मा सलमान खानको पनि स्पेशल क्यामियो रोल रहेको छ, तर, सञ्चार माध्यामका अनुसार सलमानले फिल्मको शुल्क लिन भने अस्वीकार गरेका छन् ।

फिल्ममा अभिनेत्री डिम्पल कपाडिया पनि महत्वपूर्ण भूमिकामा देखिएकी छिन् । फिल्ममा अभिनेत्री रिसर्च एन्ड एनालिसिस विंग अफिसरको भूमिकामा देखिनेछिन् । तर, उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुने भएको छ । ‘पठान’ बाहेक शाहरुख जूनमा ‘जवान’ र डिसेम्बरमा ‘डंकी’ फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् ।

प्रकाशित मिति: Jan 2, 2023

प्रतिक्रिया दिनुहोस्