Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीमा लिए शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेकाे प्रदेशसभा भवनमा  शपथग्रहण कार्यक्रम आयाेजना गरिएकाे थियाे । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएकाे भवनको अधिकांश काम सकिएको छ । अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम चरणमा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

 

प्रकाशित मिति: Jan 1, 2023

प्रतिक्रिया दिनुहोस्