Logo
१२ बैशाख २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ ।

बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन ।

लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।

जसका लागि अहिले प्रदेशसभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ । प्रदेशसभा सचिव पुनले नवनिर्मित प्रदेशसभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको बताए ।

प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए । ‘अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ,’  उनले भने ।

उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए । उनले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिए ।

उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ । यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्