Logo
६ बैशाख २०८१, बिहीबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायत सरकारले बनाएको ६७ मिलोमिटर सडक प्रदेशलाई हस्तान्तरण

बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए । ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधारनै सडक हो, सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जान्छन् ।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी-देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेको बताइन् । ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत  ४.५ मिटर चौडा मोटरेवल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको छ,’ राजदूत पोलिटले भनिन् , ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो ।’

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । ६७ किलोमिटर सडक मध्ये मुगुमा ३३ किलोमिटर र हुम्लाम ३४ किलोमिटर पर्छ । यो सडकमा चार वटा पुल निर्माण गरिएका छन् ।

राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको बताइन् ।  ‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकायहरू एक ठाउँमा हुँदा ठूलो परिवर्तन संभव छ भन्ने देखाउँछ,’ उनले भनिन् ।

राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको बताइन् ।

अक्टोबर २०१८ बाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सयबढी स्थानीय श्रमिकहरुलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरु सहभागी भएको उनले जानकारी दिइन् ।  ‘महिलालाई पनि पुरुष सहर ज्याला दिएर काममा लगाइएको थियो,’ उनले भनिन्, ‘सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखबढी आम्दानी गर्न पनि सफल हुनु भएको थियो ।’

प्रकाशित मिति: Dec 15, 2022

प्रतिक्रिया दिनुहोस्