Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनकै नेतृत्वमा आगामी सरकार निर्माण गर्ने सहमति

गत मङ्सिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसद्को ठूलो दल बनेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउने पहल शुरू गरेको छ ।

सरकार गठनको पूर्वाभ्यासस्वरूप सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बसेको थियो । बैठकमा चुनावी समिक्षासँगै आगामी सरकार गठनका विषयमा छलफल भएको नेकपा माओवादीका महासचिव देव गुरुङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

‘अहिले हामीले गठबन्धनको विकल्प खोजेका छैनौं’, उहाँले भन्नुभयो, ‘छलफलमा गठबन्धनलाई निरन्तरता दिँदै गठबन्धनकै नेतृत्वमा आगामी सरकार निर्माण गर्नेमा हामी सहमत छौं ।’ बैठकमा मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको पनि गुरुङले बताउनुभयो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा पनि निर्वाचनको दौडानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख छ । विज्ञप्तिमा निर्वाचनका दौडानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने उल्लेख गर्दै गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ ।

छलफलमा सहभागी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार गठबन्धनकै बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने गरी मोटामोटी छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ ।

बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो । आगामी सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन सबै दलहरूबीच सहमति हुन्छ ।’ छलफलमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ, एकीकृत समाजवादीका बेदुराम भुसाललगायत नेताहरूको सहभागिता थियो ।

लोसपासहित गठबन्धन गरेर मङ्सिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरूमध्ये प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका छन् । एमालेले ४४ सिट पाएर दोस्रो स्थानमा छ ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फको मतपरिणाम निर्वाचन आयोगले आधिकारिक घोषणा गरिसकेको छैन । अहिलेकै अवस्थामा सरकार बनाउन दुई वा दुईभन्दा बढी दल मिलेर मिलिजुली सरकार बनाउनुपर्ने बाध्यतामा दलहरू छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेको खण्डमा दुई दलले सरकार बनाउन सक्ने अवस्था आउन सक्छ । त्यसो नहुँदा संसद्का ५ देखि ६ दल मिल्नुको विकल्प देखिँदैन ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्