Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता समिकरणमा जनमत पार्टीको पनि सहभागिता रहने राउतको संकेत

मधेश प्रदेशको सत्ता समिकरणमा जनपमत पार्टीले पनि सहभागिता जनाउने संकेत गरेका छन् । सो पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरूको माग सम्बोधन गर्नेलाई आफ्नो पार्टीको साथ हुने बताएका हुन् ।

राउतले भने, ‘जनतामा हामीले जुन परिवर्तनको वाचा गरेका थियौँ। किसानका देखिएका समस्याहरूलाई लिएर हामी आन्दोलन गरेका थियौँ। त्यो आन्दोलनकै कारण किसानहरूले हामीलाई विश्वास गरे। त्यसैले हामी सरकारमा गएर हाम्रा मुद्दाहरू राख्छौँ, जसले पूरा गर्छ, त्यसलाई सहयोग गर्छौँ।’

उनले जनमत मधेस सरकारमा जान पनि सक्ने अथवा समर्थन गरेर नजान पनि सक्ने बताए। उनले सरकार गठनका लागि सबै दलसँग सहकार्य गर्न तयार रहेको जनाउँदै भने, ‘हाम्रा जुन मागहरू छन् त्यसमा सकारात्मक रहेका दलहरूसँग जानेमा हामी खुला छौँ। त्यसका लागि पहिला वातावरण तयार हुनुपर्छ।’

अहिले साथीहरूसँग कुराकानी भए पनि आफूसँग प्रत्यक्ष कुराकानी कुनै दलसँग नभएको अध्यक्ष राउतको भनाइ छ। यता नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भएका रामसरोज यादवले भने सरकार गठनका लागि दलहरूसँग कुराकानी भइहरहेको र जनमत पार्टी पनि आफूहरूलाई समर्थन गर्नसक्ने जिकिर गरे।

मधेस प्रदेशमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै दलहरू सरकार बनाउने समीकरणमा जुटेका छन्। यस पटकको निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गर्न नसक्दा प्रमुख दुई गठबन्धन आ-आफ्नो सरकार बनाउनका लागि कसरत थालेका छन्।

पहिलो पटक चुनावमा भाग लिँदै प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी र ६ जना स्वतन्त्रबाट निर्वाचित सांसदको सरकार बनाउनेमा मुख्य भुमिका देखिएको छ।

प्रत्यक्षतर्फ ६४ वटा सिट रहेको मधेस प्रदेशमा नेकपा एमालेले सबैभन्दा बढी १५ सिटमा जित निकालेको छ। यस्तै, नेपाली कांग्रेसबाट १३, जनता समाजवादी पार्टीबाट ९, लोकतान्त्रिक समाजवादी पार्टीबाट ७, जनमत पार्टीबाट ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट ४/४ र ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ प्राप्त सिटअनुसार पाँच दलीय गठबन्धनसँग प्रत्यक्षमा २८ सांसद र एमाले–जसपा गठबन्धनसँग २४ सांसद छन्।

प्रत्यक्ष र समानुपातिक गरी १०७ जना सांसद रहेको मधेस प्रदेशमा ४३ जना सांसद समानुपातिकबाट आउनेछन्। समानुपातिकतर्फ १९ लाख ३० हजार ४५६ मतको गणना हुँदा नेपाली कांग्रेस ३ लाख ७३ हजार ९६६ समानुपातिक मतसहित शीर्ष स्थानमा रहेको छ।

यस्तै, नेकपा एमालेले ३ लाख ३७ हजार ८५६ मत ल्याएको छ भने जनमत पार्टीले २ लाख ८५ हजार ७९२ मत, जसपाले २ लाख ७३ हजार २७८, नेपका माओवादी केन्द्र/नेसपाले १ लाख ७३ हजार ३०२, नेकपा एकीकृत समाजवादीले १ लाख ५ हजार ५९२, लोसपाले १ लाख ३ हजार २६३, राप्रपाले ६३ हजार ४७२, नेपाल संघीय समाजवादी पार्टीले ४८ हजार ७१६, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ९०३ मत ल्याएका छन्।

यस हिसाबले नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक सांसद पाउनेछ भने त्यसपछि क्रमश: एमाले, जनमत, जसपाले समानुपातिक सांसद पाउने छन्।

 

प्रकाशित मिति: Nov 30, 2022

प्रतिक्रिया दिनुहोस्