Logo
७ बैशाख २०८१, शुक्रबार
(November 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तामा जान मात्र कांग्रेसले गठबन्धन गरेको होइन : कांग्रेस नेता राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय नेता हुन् । चुनावी सन्दर्भलाई लिएर उनीसँग गरिएको कुराकानीः

बाँके ३ नै किन रोज्नुभयो ?

म सल्यानमा जन्मेको, काठमाडौंमा स्कुल र कलेज पढेको । काठमाडौंमै विद्यार्थी राजनीति गरेको । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको व्यक्ति । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौंमै पनि गर्न सक्दथेँ । तर पनि बाँके–वर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–वर्दियामा राजनीति गरिरहेको छु ।सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसँग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पूल बनेको छ । त्यहाँ जति पनि विकासकाबनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो ।

तर गठवन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो ।

चुनावी मुद्दा, योजनाहरू के के छन् ?

हिजो मैले बर्दियाको राजापुर क्षेत्रमा राजनीति शुरु गर्दा त्यस क्षेत्रका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मापहाडबाट झरेका गरिबहरू, दलितहरू बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरू, मधेशी, मुस्लिम त्यसमा पछि पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु ।

१० वर्षदेखिएमालेले जितेकोयो क्षेत्रमा विकासको काम शून्यप्राय छ । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ । यहाँ अधिकांश किसानहरूको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासंग जोड्नु आवश्यक छ । यहाँ सिक्टा र बबईको पानील्याएर सिंचाई प्रवन्ध गर्ने आवश्यकता छ । मानखोलामा तटवन्धनको आवश्यकता छ । त्यसको व्यवस्थापनका लागि पहल गर्छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म ४ लेनको सडक बनाउन मेरै पहलमा प्रक्रिया अघि बढेको छ । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने लगायतका अन्य विभिन्न प्राथमिकता मैले तय गरेको छु ।

अहिले यहाँहरू गठवन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । बहुमत नपुग्दा सरकार बनाउन गठवन्धन त ठिकै होला तर निर्वाचनमै गठवन्धन के का लागि ?
कतिपय बुद्धिजीवीले काँग्रेसले सत्तामा जानका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेको हो भनिरहेका छन् । त्यसरी भन्नेमा विपक्षी निकट बुद्धिजीविको संख्या बढी छ । एक अर्थमा उनीहरूले भनेको कुरा पनि गलत छैन किनभने सत्तामा नगई आफ्नो घोषणापत्र, योजना कार्यान्वयन गर्न सकिँदैन । नीति तथा कार्यक्रम बनाएर देशलाई विकास एवं सुशासनको बाटोमा हिँडाउन सत्तामा जानै पर्छ । संघ र प्रदेशबाट सम्वन्धित क्षेत्रमा बजेट हाल्न सकिंदैन ।

तर सत्तामा जान मात्र गठबन्धन गरिएको होइन । बीपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नु भएको थियो । तर संविधानसभाबाट संविधान बन्न झन्डै सात दशक कुर्नुप¥यो । नेताले कुनै कुरा बोल्दैमा तत्काल पूरा हुन सक्दैन । त्यसका लागि परिवेश तयार हुनुपर्छ । जनताको चेतना विकास हुनुपर्छ । ७० वर्ष लगाएर संघर्ष गरेर, करोडौं खर्च गरेर २–२ पटक संविधानसभाको चुनाव गराएर ल्याइएको संविधान धरापमा पार्न केपी ओलीले जसरी २–२ पटक असंवैधानिक रूपमा संसद विघटन गर्नुभयो । मुलुकलाई नै गम्भीर अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नु भयो ।

सात दशकको संघर्षपछि हामीले समावेशी संविधान बनाएका हौं । मधेसी, मुस्लिम, जनजाति, थारु, अल्पसंख्यक सबैको हकहित र निश्चित प्रतिनिधित्व सुनिश्चित भएको संविधान मासिन्थ्यो । सबै समुदाय फेरि अधिकारविहीन बनाइन्थे । अर्को अराजकताको अभ्यास हुन्थ्यो । काम गरेर वातावरण हँुदैनथ्यो । सशस्त्र द्धन्द्धले हामीलाई कति पछाडि पारेको छ । तत्काल नेपाली कांग्रेसको नेतृत्वमा केपी ओलीको असंवैधानिक कदमको विरोधमा दलहरू एकजुट नभएको भए आज मुलुक कुन अवस्थामा पुग्थ्यो कल्पना गर्नुस् त । त्यसबाट मुलुकलाई जोगाएर समृद्ध र समुन्नत नेपाल बनाउने अभियानमा भएका दलहरूले अहिले गठवन्धन गरेका हौं । निर्वाचनपछि हाम्रो गठवन्धनले सरकार बनाउँछ र संविधानको जगेर्ना र कार्यान्वयनमार्फत् सुशासन र समृद्धिसहितका आवश्यकता पूरा गर्छ ।

एमालेले अहिले कांग्रेसले आफूविरुद्ध घेरावन्दी गरेको आरोप लगाएको छ नि ?

कांग्रेस कसैको विरुद्ध छैन । नेपालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था स्थापना कांग्रेसकै नेतृत्वमा भएको हो । विभिन्न दलहरूले जनतासामु विभिन्न एजेण्डा लिएर जाउन र जसले बहुमत ल्याउँछ उसैले सरकार चलाओस् र दोश्रो शक्ति प्रतिपक्षमा रहोस् भन्ने काँग्रेसको मूल मान्यता हो । जनताको, लोकतन्त्रको, संविधानको, मानवअधिकारको विरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन ।

२०६४ सालको संविधानसभामा माओवादीसहित कम्युनिस्टसँंग अत्यधिक बहुमत थियो । त्यतिबेला संविधान बन्न सकेन । मुलुक एकखाले अनिश्चिततामा जाने अवस्था बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर दोश्रो संविधानसभा निर्वाचन गरियो । निर्वाचनपछि हाम्रो आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी पहलमा संविधान जारी भयो । वर्तमान संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकलाई नयाँ गति दिने मार्गरेखा कोरेको छ । यद्यपि, यो संविधान पूर्ण छ भन्ने हाम्रो पनि ठम्याई होइन । मधेशीका, थारुका, मुस्लिम, दलित, महिला आदिवासी, पछि पारिएका समुदाय, विभिन्न क्षेत्र पक्षका कतिपय विषय नपुगेका होलान । संविधान अपरिवर्तनीय दस्तावेज होइन ।समय र आवश्यकताका आधारमा परिवर्तन गर्दै लैजाने विषय हो । अहिलेसम्मका परिवर्तनलाई जोगाउँदै भएका कमी कमजोरी हटाउँदै अघि बढ्ने हो ।

केपी ओलीले संविधान नै ध्वस्त गर्ने, प्रणाली नै सखाप पार्ने खालका क्रियाकलाप गरेर सुधारको बाटो बन्द गर्नेमात्र होइन, प्राप्त उपलब्धि नै सखाप पार्ने प्रयास गर्नुभयो । त्यो अवस्थामा उहाँकै पार्टीका ठूलो संख्याका सांसदसहित कांग्रेस र अरु पार्टी मिलेर ओलीको त्यो अनधिकृत प्रयासमा रोक लगाएको हो । त्यसैले हामी कसैका विरुद्ध छैनौं । प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्नेहरूका साथमा छौं ।

अपेक्षित विकास हुन नसक्नुमा कांग्रेस पनि दोषी छ भन्ने आवाज सुनिन्छ नि ?

कांग्रेस सच्चिनु त जरुरी छ । बीपी कोइरालाले जीवन भनेको पाठशाला हो भन्नुभएको छ । उहाँले मर्ने कुराको मलाई अनुभूति भयो पनि भन्नुभएको छ । उहाँले बनाएको पार्टी हो यो । अर्का नेता सुवर्णशमशेरले आफ्नो १६ हजार विघा जमिन राष्ट्रियकरण गरेर भूमिसुधार लागू गरेर अघि बढाएको पार्टी हो नेपाली काँग्रेस । वीपी कोइराला, सुवर्णशम्सेर, गणेशमानजी, किसुनजी जति पनि हाम्रा नेताहरू हुनुहुन्थ्यो ।उहाँहरू खान पुग्ने परिवारकै सदस्य हुनुहुन्थ्यो । कठोर राणा शासनमा जीवन नै जोखिममा राखेर किन उहाँहरूले २४÷२५ वर्षकै उमेरमा नेपाली कांग्रेस पार्टी खोल्नुभयो । माननीय हुनलाई, मन्त्री प्रधानमन्त्री हुनलाई उहाँहरूले पार्टी खोल्नुभएको होइन । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि, गरिब दुःखीहरूको हितका लागि हो । वीपी कोइरालालाई राजाले पञ्चायतकालमा पनि प्रधानमन्त्रीको अफर गरेकै हो । प्रजातन्त्र मास्ने राजाको अफर वीपी कोइरालाले अस्वीकार गर्नुभयो । २०४६ सालको आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले  आग्रह गर्दा गणेशमान सिंहले आफूले छोडेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको हो ।

यत्रो संघर्ष गरेर आएको । हिजो राणा फालेको, पञ्चायत फालेको, राजा फालेको पार्टी काँग्रेस । त्योसंगै सहकार्य गरेका अन्य पार्टीहरू जनताको मनमा बस्नु पर्ने हो । तर किन बस्नसकेका छैनन्,अलोकप्रिय भैरहेका छन् ? यो सोचनीय प्रश्न हो । नेताले झूठ बोलेका कारण, ढाँटेका कारण दलहरू, नेताहरू अनपपूलर भैरहेको परिस्थिति छ । गर्न नसक्ने काम गर्छु भनेर नेताहरू जनतालाई झुठ बोलेका कारण आज त्यत्रो संघर्ष गरेर आएका पार्टीहरू, नेताहरू भरोसायोग्य कम भएको तपाई हामी सबैले सुनिरहेका छौं, देखिरहेका छौं । नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो भने जनतामा भ्रम हुँदैन ।

तपाईले काँग्रेसमा सुधारको प्रश्न गर्नुभयो । काँग्रेसले गरेका कामलाई, विकासका आधारलाई एउटा निष्कर्षमा पु¥याउनु छ । हामी कानूनी राज्यका लागि, सुशासनका लागि लडेका हौं । जनताले खोजेकोजस्तो सुशासन, कानूनी राज्यको निर्माणमा कहिँ न कहिँ समस्या छ भन्ने हाम्रो बुझाई छ । त्यो पूरा गर्नुपर्छ । आफ्नो ठाउँबाट यसका लागि म प्रतिवद्ध छु ।

 

प्रकाशित मिति: Nov 11, 2022

प्रतिक्रिया दिनुहोस्