Logo
१६ आश्विन २०७९, आईतबार
(September 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मृत्यु’ का चरणहरू अनि ‘श्राद्ध’ को महत्त्व

योग प्रणालीमा उल्लेख गरिएको मृत्युका विभिन्न चरणहरूको बारेमा बताउँदै, सद्‌गुरु हामीलाई मृत्यु पश्चात गरिने विभिन्न संस्कारहरूको महत्त्वको बारेमा बुझाउँदै हुनुहुन्छ ।

प्रश्नः सद्‌गुरु नमस्कार ! कोही दिवङ्गत भइसकेपछि हामी श्राद्ध गर्छौँ, यसको महत्त्व के हो ?

सद्‌गुरुः यस संस्कृतिमा, यदि तपाईंको आफन्तको निधन भयो भने तपाईंले त्यो शवलाई कुर्नुपर्ने हुन्छ— कसैले पनि शवलाई यत्तिकै छाडेर जाँदैनन् । यदि तपाईंले शवलाई २-३ दिनभन्दा बढी समयसम्म राख्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि लासमा रौँहरू बढ्न थाल्छन् । यदि मृत व्यक्ति पुरुष हो, अनि उसले कपाल-दाह्री खौरिने गर्थ्यो भने तपाईंले अनुहारमा हेरेर जान्न सक्नुहुने छ । नङहरू पनि बढ्न थाल्छन् । यस्तो किन हुन्छ भने जीवन भिन्न-भिन्न रूपहरूमा अभिव्यक्त भइरहेको हुन्छ । हामी यसलाई यसरी बुझौँ— मूल जीवन हुन्छ र भौतिक स्थूल जीवन हुन्छ । भौतिक जीवन-उर्जा, जसलाई सामान्यतया प्राण भनिन्छ, यसका पाँचवटा मूल रूपहरू हुन्छन् । वास्तवमा १० वटा हुन्छन्, तर त्यसबाट कुराहरू अझ जटिल हुन्छन्, तसर्थ पाँचवटा मूल रूपहरूमा चर्चा गरौँ । यिनलाई समान, प्राण, उदान, अपान र व्यान भनिन्छ ।

मृत्युका चरणहरू

जब कसैलाई डाक्टरले मृत घोषणा गर्छन्, त्यसको २१ देखि २४ मिनेटमा समान शरीरबाट बाहिर निस्किन थाल्छ । ‘समान’ ले शरीरको तापक्रमलाई सन्तुलित गर्दछ । त्यसैले, कसैको मृत्यु भइसकेपछि सर्वप्रथम शरीर चिसो हुन थाल्छ । परम्परागत रूपमा, व्यक्तिको मृत्यु भइसक्यो वा अझै जीवित छन् भनेर जाँच्नको लागि नाक छोएर हेर्ने गरिन्थ्यो— उनीहरू आँखा र अरू मापकहरू हेर्दैनथे । यदि नाक चिसो भयो भने व्यक्तिको मृत्यु भयो भनेर घोषणा गरिन्थ्यो ।

मृत्यु भएको ४८ देखि ६४ मिनेटको बिचमा शरीरबाट प्राण निस्किन्छ । ६ देखि १२ घण्टाको बिचमा उदान निस्किन्छ । उदान शरीरबाट निस्किनु अघिसम्म केही तान्त्रिक प्रकियाहरूद्वारा शरीरलाई पुनः जीवित गर्न सकिन्छ । एकपटक उदान बाहिर निस्किएपछि शरीरलाई पुनर्जिवित गर्न व्यवहारिक रूपमा असम्भव हुन्छ । त्यसलगत्तै, ८ देखि १८ घण्टाभित्र अपान निस्किन्छ । त्यसपछि, प्राणको रक्षक प्रवृत्ति रहेको व्यान शरीरबाट निस्किन थाल्छ, अनि यदि मृत्यु सामान्य हो भने अर्थात् वृद्धावस्थामा जीवन क्षीण भएकोले मृत्यु भएको हो भने, त्यस स्थितिमा ११ देखि १४ दिनसम्म व्यान शरीरबाट बाहिर निस्किरहन्छ । त्यस अवधिसम्म शरीरमा केही प्रक्रियाहरू जारी रहन्छ, त्यहाँ अझैपनि जीवनको तत्त्व बाँकी रहेको हुन्छ । यदि कसैको दुर्घटनामा परेर मृत्यु भएको हो, वा अर्को शब्दमा भन्नुपर्दा, जीवन जीवन्त र उर्जावान् छँदै कसैको मृत्यु भएको हो अनि लास अझै छ— लास पूर्ण रूपमा नष्ट भएको छैन भने, अर्को ४८ देखि ९० दिनहरूसम्म त्यस जीवनको कम्पन रहिरहन्छ ।

श्राद्ध— मृतमा मधुरता ल्याउने प्रयास
मृत्युपछि गरिने संस्कारहरू किन महत्त्वपूर्ण छन् ?

त्यस अवधिमा, तपाईं त्यस जीवनको लागि केही चीजहरू गर्न सक्नुहुन्छ । तपाईंको बुझाइमा कसैको मृत्यु हुनु भनेको ऊ गयो भन्ने हो, तर त्यो जीवनको अनुभवमा ऊ शरीरबाट बाहिर निस्किएको मात्र हो । एकपटक कोही शरीरबाट निस्किएपछि, ऊसँग तपाईंको कुनै सरोकार बाँकी रहँदैन । तपाईं चिन्न समेत सक्नुहुन्न, अनि यदि ऊ फर्किएर आउने हो भने तपाईंमा त्रास उत्पन्न हुन्छ । यदि तपाईंले माया गरेको व्यक्तिको मृत्यु भएपछि ऊ फर्किएर आउने हो भने, त्यहाँ त्रास हुन्छ— प्रेम होइन । किनकि तपाईंको सम्बन्ध उसको शरीर वा चेतन मन र भावनासँग मात्र रहेको हुन्छ । कसैको मृत्यु भइसकेपछि यी दुवै पक्षहरू यहीँ त्यागिन्छ ।

मृत्यु भएपछि भेद छुट्याउने क्षमता पूर्णतया समाप्त हुन्छ । तब तपाईंले त्यस मनमा जुनसुकै गुण हाल्नुभए तापनि त्यो स्वतः लाखौँ गुणाले बढ्दछ ।
मन भनेको जानकारीहरूको थुप्रो मात्र हो, अनि यसका आफ्नै प्रवृत्तिहरू हुन्छन्, जुन निश्चित रूपमा प्रकट हुन्छ । जब कसैको मृत्यु हुन्छ, त्यसपछि भेद छुट्याउने विवेक रहँदैन, बुद्धि पनि रहँदैन । यस अवस्थामा, यदि तपाईंले तिनको मनमा एक थोपा मधुर वा प्रिय अनुभव हालिदिनुभयो भने, त्यो सुखद अनुभव लाखौँ गुणाले बढ्नेछ । त्यसैगरी, यदि तपाईंले एक थोपा अप्रिय अनुभव हालिदिनुभयो भने, त्यो अप्रियता पनि लाखौँ गुणाले बढ्नेछ । किनकि तिनमा कहिले रोकिने भनेर सोच्ने क्षमता हुँदैन, बुद्धि हुँदैन ।

मृत्यु भएपछि भेद छुट्याउने क्षमता पूर्णतया समाप्त हुन्छ । तब तपाईंले त्यस मनमा जुन गुण हाल्नुहुन्छ, त्यो स्वतः लाखौँ गुणाले बढ्दछ । यसैलाई स्वर्ग र नर्क भनिएको हो । यदि तपाईं मधुर अनुभवमा पुग्नुभयो भने, त्यसलाई स्वर्ग भनिन्छ । यदि तपाईं अप्रिय अनुभवमा पुग्नुभयो भने, त्यसलाई नर्क भनिन्छ । स्वर्ग र नर्क कुनै भौगोलिक स्थानहरू होइनन्— यी केवल अनुभवजन्य वास्तविकता हुन्, जसबाट बेदेह (देह वा शरीर नभएको) जीवन गइरहेको हुन्छ ।

मृत्युपछि गरिने संस्कारहरू

यस्ता थुप्रै अनुष्ठानहरू छन् जसद्वारा हामी जसोतसो त्यस अविवेकी (भेद छुट्याउन नसक्ने) मनमा एक थोपा मिठास हाल्न सक्छौँ, ताकि त्यो मधुर अनुभव लाखौँ गुणाले बढोस् अनि त्यो जीवन सुखद अनुभवमा रहोस् । मत्युपछि गरिने संस्कारहरूको वास्तविक महत्त्व यही हो— यदि त्यसलाई सही ढङ्गले गरिने हो भने !

मानिसहरूले जे-जति गर्ने कोशिस गरिरहेका छन्— आजको समयमा त्यसलाई कति सही तरिकाले गरिएको छ वा कति बेतुक ढङ्गले गरिँदै छ भन्ने कुराको आफ्नै पाटो छ । तर मृत्युपश्चात फरक-फरक चरणहरूमा केके गरिनुपर्छ भन्ने बारेमा एउटा पूरै विज्ञान रहेको छ ।

यहाँको परम्परा यस्तो छ… कसैको मृत्यु भएपछि सबैभन्दा पहिले उसको खुट्टाका बुढी औँलाहरू बाँधिन्छ । यो एकदमै महत्त्वपूर्ण छ किनकि यसले मूलाधार चक्रलाई कस्दछ, जसकारण त्यस जीवनले एकपटक पुनः शरीरलाई अतिक्रमण गर्न (शरीरभित्र प्रवेश गर्न) सक्दैन वा त्यसो गर्ने कोशिस गर्न सक्दैन । जुन जीवन शरीरमा हुँदा, “म यो शरीर होइन” भन्नेप्रति चेतनशील रहेको हुँदैन, त्यो शरीरबाट बाहिर निस्किएपछि पनि शरीरको कुनै छिद्रद्वारा त्यसभित्र पस्ने कोशिस गर्दछ— विशेषगरी मूलाधार हुँदै । मूलाधारमा नै जीवन उत्पन्न हुन्छ अनि शरीर जसैजसै चिसो हुँदै जान्छ, अन्तिम समयसम्म पनि मूलाधार न्यानो रहिरहन्छ ।

परम्परादेखि सदैव यो भनिएको छ कि यदि कसैको देहान्त (देहको अन्त्य) भयो भने, आधा घण्टा देखि बढीमा चार घण्टाभित्र तपाईंले शवलाई जलाइसक्नु पर्छ किनकि त्यो जीवन शरीरभित्र फर्किने कोशिस गर्दछ । शव जलाउनु बाँकी जीवितहरूका निम्ति समेत राम्रो हो । यदि तपाईंको प्रियजनको मृत्यु भयो भने, तपाईंको मनले भ्रामक विचारहरू उत्पन्न गर्न थाल्दछ । मनले सोच्न थाल्छ कि कतै चमत्कार पो हुन्छ कि ! कतै भगवान आएर पो बचाइदिनु हुन्छ कि ! मनले यस्ता विचारहरू उत्पन्न गर्नुको कारण यो हो कि मरेर गएका व्यक्तिसँग तपाईंका भावनाहरू गाँसिएका हुन्छन् । त्यसैगरी, जुन जीवन शरीरबाट निस्किएको हुन्छ, उसले पनि आफू अझैपनि शरीरभित्र फर्किन सक्छु भनेर पत्याउन थाल्छ । यो प्रक्रिया चलिरहेको हुन्छ । यदि तपाईं यो नाटक बन्द गर्न चाहनुहुन्छ भने, शरीरलाई ४ घण्टाभित्र जलाइ सक्नुपर्छ । मृत शरीरलाई सकेसम्म चाँडै नष्ट गर्नुपर्छ ।

यस्ता थुप्रै अनुष्ठानहरू छन्, जसद्वारा हामी जसोतसो त्यस अविवेकी मन (भेद छुट्याउन नसक्ने मन) मा एक थोपा मिठास हाल्न सक्छौँ, ताकि त्यो मधुर अनुभव लाखौँ गुणाले बढोस् अनि त्यो जीवन सुखद अनुभवमा रहोस् । मत्युपछि गरिने संस्कारहरूको वास्तविक महत्त्व यही हो— यदि त्यसलाई सही ढङ्गले गरिने हो भने !
कृषि प्रधान समुदायहरूमा शवलाई गाडिन्थ्यो, किनकि उनीहरू चाहन्थे कि आफ्ना पूर्वजहरू त्यही माटोभित्र जाऊन्, जुन माटोले कुनैबेला भरण-पोषण गरेको थियो । तर आज तपाईं बजारबाट खाना किन्नुहुन्छ अनि तपाईंलाई त्यो कहाँबाट आएको हो भन्ने नै थाहा हुँदैन । त्यसैले, शव गाड्नु त्यति उचित कुरा रहेन । पहिले जब शवलाई जमिनमुनि गाडिनथ्यो, शवमाथि नुन र बेसार हालिन्थ्यो ताकि त्यो छिटोभन्दा छिटो माटोमा मिलोस् । दाह-संस्कार (शवलाई जलाउनु) राम्रो हो, किनकि यसले पूरै अध्याय बन्द गर्दछ ।

तपाईंले यो देख्नुहुनेछ कि परिवारमा जब कसैको मृत्यु हुन्छ, मानिसहरूमा रोदन र क्रन्दन हुन्छ, तर शव जलिसकेपछि सबैजना चूपचाप हुन्छन् । किनकि एकाएक सत्य बोध हुन्छ— अब खेल समाप्त भइसक्यो । यो जीवितको सन्दर्भमा मात्र नभई शरीर छोडेर गएको त्यस जीवनको सन्दर्भमा समेत लागू हुन्छ । जबसम्म शरीर रहिरहन्छ, त्यो जीवन पनि कतै शरीरभित्र फर्किन सकिन्छ कि भन्ने भ्रममा रहेको हुन्छ ।

मृत्युपछि गरिने संस्कारहरू किन महत्त्वपूर्ण छन् ?

पक्कै पनि तपाईंहरूमध्ये अधिकांशले ऋणानुबन्ध भनेर सुन्नुभएको हुनुपर्छ । शरीरसँग रहेको सम्बन्धलाई ऋणानुबन्ध भनिन्छ । जब तपाईं कसैलाई स्पर्श गर्नुहुन्छ— रगतको नाताले वा यौन सम्बन्धमा अथवा यहाँसम्म कि कसैको हात समात्नुभयो वा लगाएको लुगा साट्नुभयो भनेपनि— दुवै शरीरमा ऋणानुबन्ध उत्पन्न हुन्छ । जब कसैको मृत्यु हुन्छ, हामी यो ऋणानुबन्धलाई पूर्णतया मेटाउन चाहन्छौँ । शव जलिसकेपछि बचेको अस्तु वा खरानीलाई गङ्गगा वा अन्य नदीहरूमा बगाइनुको मूल कारण यो हो कि त्यसलाई यत्रतत्र छरिन सकियोस्— यसो गर्नाले तपाईं मृत्यु भएको व्यक्तिसँग कुनै ऋणानुबन्ध स्थापित गर्नुहुन्न । तपाईंले आफ्नो जीवनलाई सही तरिकाले अघि बढाउनको निम्ति, यो ऋणानुबन्धलाई राम्रोसँग तोड्नु एकदमै आवश्यक छ । अन्यथा यसले तपाईंको शारीरिक र मानसिक संरचनामा असर गर्नेछ, जुन अहिलेको आधुनिक समाजमा भइरहेको छ ।

८ वर्षसम्मका बच्चाहरूमा यी चीजहरूको असर हुँदैन, किनकि प्रकृतिले उनीहरूलाई त्यस किसिमको सुरक्षा दिएकी छिन् । यदि हामीले मरेर गएकाहरूका निम्ति सही संस्कार नगर्ने हो भने, यसको सबैभन्दा बढी असर किशोर-किशोरीहरूमा हुन्छ— किनभने, देह नभएको जीवनको उर्जा सधैँ त्यहीँ रहिरहेको हुन्छ । अनि यो उर्जा सर्वप्रथम किशोर-किशोरीहरूतर्फ आकृष्ट हुन्छ, किनकि उनीहरू यसप्रति सबैभन्दा बढी नाजुक हुन्छन् । तपाईं आज संसारमा देख्न सक्नुहुन्छ कि किशोरावस्थामा मानिसहरूमा कुन हदसम्मको उथलपुथल भइरहेको छ । हामीभन्दा पहिलेका पिँढीहरूको तुलनामा अहिलेका पुस्ताका मानिसहरूमा किशोरावस्थामा यति धेरै संघर्ष हुनुको एउटा प्रमुख कारण के हो भने, हामीले मरेका गएकाहरूका निम्ति सही संस्कार गरेका छैनौँ अनि यी ऋणानुबन्धहरू जताततै छन् । यो एउटा सफ्टवेयर जस्तै हो जुन यत्रतत्र छ, र यसले किशोर-किशोरीहरूलाई सबैभन्दा बढी हानी गर्दछ ।

श्रद्धाञ्जली— श्रद्धाको भावना

भावनाहरू जीवनको फरक र गौण पक्ष हुन् । वास्तवमा, हामी मृत्यु भएका व्यक्तिसँगको ऋणानुबन्ध वा शारीरिक समानतालाई मेटाउन चाहिरहेका हुन्छौँ । किनकि, यसले रोगी बनाउन सक्छ अनि हामीमा मानसिक उथलपुथल निम्त्याउन सक्छ । भावना आफैँमा हानिकारक हुँदैन । यदि तपाईंको कसैसँग राम्रो सम्बन्ध थियो अनि अहिले ती व्यक्ति यस संसारमा छैनन् भने, पीडामा डुब्नुको सट्टा ऊसँगको सम्बन्धलाई श्रद्धापूर्वक याद गर्नु राम्रो हुन्छ । तर, यदि त्यहाँ ऋणानुबन्ध छ भने, यसले तपाईंको शरीर र तपाईंको मानसिक संरचनालाई यस हदसम्म कमजोर बनाउँछ कि दुई व्यक्तिहरूबिच भएका ती सबै सुन्दर चीजहरूलाई सम्झिनुको सट्टा, तपाईं झन् पीडामा डुब्नुहुन्छ । अनि, त्यति मात्रै होइन— यसले जीवनलाई एक किसिमले अस्तव्यस्त र विक्षिप्त बनाउँछ । त्यस्तो हुन नदिन, हामी शरीरसँगको स्मरणलाई नष्ट गर्ने प्रयास गर्दछौँ । कुरा यति मात्र हो कि तपाईं आफ्ना भावनाहरू र मनमा रहेको यादहरू भुल्न सक्नुहुन्न— तपाईंले यसलाई भुल्नु पनि हुँदैन ! जो व्यक्ति तपाईंको लागि त्यति प्रिय थिए, तपाईंले उनलाई किन भुल्नु पऱ्यो ? तपाईंले ती व्यक्तिसँगको सम्बन्धलाई सधैँ श्रद्धापूर्वक सम्झिरहनु पर्छ । “isha”

प्रकाशित मिति: Sep 12, 2022

प्रतिक्रिया दिनुहोस्