Logo
१५ चैत्र २०८०, बिहीबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लाका पर्यटकीय तथा धार्मिक स्थल मन्दिर र मष्टोमा मेला सुरू

जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरू भएकाे छ। काेराेना महामारीका कारण राेकिएका मेला यसपटक भने धुमधामसँग हुने भएकाे छ ।

चन्दननाथ नगरपालिका-४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीमा मालिका माईको पुजा गरी त्यही दिनदेखि सबै ठाउँका देवी देवताहरुको पुजाआजा सुरू हुने चलन छ ।

चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार मष्टोसहितका देवताको पुजाआजा सुरू भएकाे हाे । यस क्षेत्रमा बाह्र भाई मष्टो, बाबिरा, महादेव, भैरवनाथ, कैलाश, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव, दुर्गा भवानीसहितका दर्जनौं देउताको पुजाआजा हुन्छ ।

मनाेकामना पूरा गर्ने, सोचेको पुग्ने भएका कारण यहाँका देवी देवता र मष्टाेहरूमा भाकल गर्न आउनेहरूकाे घुँइचाे लाग्छ । मेलाका क्रममा यहाँका मन्दिर तथा थानमा पुजा गर्ने, नयाँ ध्वजापतका लगाउने गरिन्छ ।

हिमा गाउँपालिका-१ का कालासिल्लाका पुजारी वीरबहादुर शाहीले पुजाआजा अब कार्तिक पूर्णिमासम्म चल्ने बताए । जुम्ला मष्टो परम्परासहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो ।

प्रकाशित मिति: Aug 16, 2022

प्रतिक्रिया दिनुहोस्