Logo
८ बैशाख २०८१, शनिबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३३१ विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति : अनलाइन आवेदनको तरिका सहित

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले प्रमाणपत्र तह तथा डिप्लोमा विभिन्न २९ ओटा शैक्षिक कार्यक्रमका लागि २९१३ जना र प्रि डिप्लोमा तहमा १८१४ गरी ४३३१ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको छ ।

बिहीबार सूचना प्रकाशित गर्दै सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो ।

२०७९ साउन २९ गते राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी आवेदन समेत अनलाइनमै दिनुपर्ने सीटीईभीटीले जनाएको छ ।

डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङका लागि समेत निःशुल्क छात्रवृत्ति पाउन सकिनेछ ।

प्रि-डिप्लोमा तहमै सर्भे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कुलिनरी आर्ट, इन्टरप्रेनरशिप डेभलपमेन्ट, सोसल मोबिलाइजेसन र कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल म्यानेजमेन्ट कार्यक्रममा पनि निःशुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ ।

साउन १५ देखि खुला हुने अनलाइन आवेदन फारामका लागि डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । जुन कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्नुपर्नेछ ।

आवेदन दिन पाउने योग्यता

एसएलसी तहको परीक्षामा ६८.३३ प्रतिशत तथा एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा अन्य विषयमा न्यूनतम डी ग्रेड प्राप्त गरी २ जीपीए ल्याएका विद्यार्थीहरूले सीटीईभीटीको छात्रवृत्तिका लागि आवेदन दिन पाउने बताइएको छ ।

प्रि-डिप्लोमा तहका लागि एसएलसी वा सो सरहको परीक्षा तथा एसईईमा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् ।

कसरी भर्ने अनलाइन आवेदन :

  • सुरुमा सीटीईभीटीको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) अथवा सीटीईभीटी परीक्षाको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा जानुहोस् ।
    त्यसपछि त्यहाँ रहेको ‘क्लासिफाइड अनलाइन फर्म’ (Classified Online From) मा क्लिक गर्नुहोस् ।
  • अब आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा तथा पीसीएल वा प्रि डिप्लोमा मध्ये आफूले आवेदन दिन चाहेको तह छनौट गरी ‘न्यु युजर’ (New User) मा क्लिक गर्नुहोस् ।
  • आफ्नो नाम, थर र मोबाइल नम्बर राख्नुहोस् र ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि शुल्क जम्मा गर्न ‘पे नाउ’(Pay Now) छनौट गर्नुहोस् र त्यसका लागि सम्बन्धित कम्पनी रोजेर पुनः ‘प्रोसिड’(Proceed) मा क्लिक गर्नुहोस् ।
  • शुल्क जम्मा भएको प्रमाणिकरण पश्चात आप्नो पासवर्ड तयार गर्नुहोस् र त्यसपछि ‘क्लासिफाइड स्कलरशिप अनलाइन एप्लिकेसन फर्म’(Classified Scholarship Online Application Form) खुल्छ ।
  • त्यसपछि अनलाइन आवेदन फाराममा उल्लेखित आवश्यक विवरण भर्दै जानुहोस् ।
  • आवश्यक कागजात अपलोड गर्दा जेपीजी फाइल फर्म्याट रहेकोमा ध्यान दिनुहोस् । जसमा पासपोर्ट साइजको रङ्गिन फोटो ८ केबीदेखि ५० केबीसम्मको फाइल साइज भएको ३५ बाई ४५ एमएम कायम राख्नुहोस् । हस्ताक्षरको फोटो साइज ३ केबीदेखि २० केबी भित्र सीमित गर्नुहोस् । त्यस्तै अन्य आवश्यक कागजातको साइज ८० केबीदेखि ३०० केबी बीचमा सीमित गर्नुपर्ने हुन्छ ।
  • विद्यार्थी स्वयम्‌ले प्रक्रिया पूरा गरी छात्रवृत्तिका लागि भरेको अनलाइन आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि तत्कालै प्रिन्ट गर्न सकिने बताइएको छ । सो प्रिन्ट गरिएको प्रवेश पत्र प्रवेश परीक्षा र शिक्षालयमा भर्ना हुनका लागि आवश्यक पर्ने भएकाले सुरक्षित राख्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्