Logo
७ बैशाख २०८१, शुक्रबार
(July 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधि हातपात प्रकरण : प्रहरी छानबिन सुस्त

महोत्तरीकाे बर्दिबास नगरपालिका-१२ का वडाध्यक्षमाथि २९ असारमा भएकाे हातपातकाे घटना बारे प्रहरीले छनबिन प्रिक्रियालाई अझै तदारुकताका साथ सुरू नगरेकाे आराेप छ। प्रहरीकै बेवास्तका कारण जनप्रतिनिधि र सेवाग्राहीबीचकाे भएको झगडा उत्कर्षमा पुगेको छ ।

२९ असारमा वडा नम्बर १२ का अध्यक्ष रामकिशोर साहमाथि एक सेवाग्रहीले हातपात गरेकाे आराेप छ । तर सेवाग्रहीले भने मलखादको विषयमा सामान्य विवाद मात्र भएको दाबी गरेका छन् । घटनामा सम्लग्नकाे आरोपमा अध्यक्ष साहले स्थानीय सोहन पौडेल, समिर बैठा, रामनिवन महतो, बिमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नटविरुद्ध किटानी जाहेरी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय बर्दिवासमा किटानी जाहेरी दिएका छन् ।

तर, अध्यक्ष साहको किटानी जाहेरी इलाका प्रहरी कार्यालयले दुई दिनसम्म पनि दर्ता गरेन् । स्थानीयकाे दबाबपछि मात्रै जाहेरी दर्ता भएकाे थियाे । तर जाहेरी दर्ता गरेको एक साता बित्न लाग्दा समेत प्रहरीले अनुसन्धान सुरुवात गरेको छैन । आराेपलाई पक्राउ पुर्जी जारी गरेर घटनामा सम्लग्नलाई पक्राउ गर्ने प्रयास भैइरहेको प्रहरीले बताउँदै आएको छ ।

के भएको थियो ?

वडा नम्बर १२ को लागि जेठ महिनामा ५४ बोरा डिएपी र युरिया मल आएकाे थियाे । स्थानीय तह चुनावको गर्मागर्मी बढिरहेको बेला उक्त मल केही नजिकका मान्छेलाई मात्रै वितरण गरेको पीडक भनिएका सोहन पौडेल पक्षको भनाइ छ ।

अध्यक्ष रामकिशोर साहका अनुसार २४८ बोरा थप मल समेत वडा नम्बर १२ को लागि आएपछि वडा कार्यालयमा स्थानीयसँग कसरी वितरण गर्ने भन्ने सम्बन्धमा छलफल भैइरहेको थियो । ‘छलफलका क्रममा जाहेरीमा उल्लेख गरिएका व्यक्ति आए र मलाई पछाडिबट हान्न थाले,’ उनले भने, ‘उनीहरूले मेरो मोबाइल खोसेर अभद्र व्यवहार गरे ।’

दुबै मोबाइल खोसिनु र कार्यालयमा प्रवेश गरेर आक्रमण गर्नुले घटना पूर्वाग्राही ढंगले घटाएको अनुमान छ । `कसैलाई अध्यक्षले फोन गरेर बोलाउँछ भनेर मोबाइल पनि खोसिएको रहेछ यदि सही नियतले उनीहरू कार्यालय जान्थे भने किन मोबाइल नियन्त्रण लिन्थे ? घटना गम्भीर छ ।´ एक स्थानीयले भने ।

तर, पीडक भनिएका सन्जिव महतोले वडा अध्यक्ष साहलाई कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘हामी ५४ बोरा मलखादको हिसाब खोज्न त्यहाँ पुगेका थियौँ अन्य उदेश्य केही पनि थिएन्,’ उनले भने ।

घटना हुनुभन्दा एक दिनअघि मात्र वडा नम्बर १२ का सिके राउतका कार्यकर्ता तथा जनमत पार्टीको भातृ संगठनका जिल्ला सचिव विमलेश महतोले पिक्चर देखाउन बाँकी छ भन्दै मिति समेत राखेका थिए । उनले भनेकै मितिमा उक्त घटना घट्नुले पनि योजनाबद्ध रहेकाे अनुमान गरिएको छ । वडाअध्यक्ष रामकिशोर साह माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अघिल्लो कार्यकालमा पनि उनै साह अध्यक्ष थिए ।

घटनामा सम्लग्न भनिएका भने नेपाली कांग्रेस, जनमत र लोसपामा आबद्ध छन् । सबै राजनीतिक दलहरूले वडा अध्यक्षमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै अध्यक्ष साहमाथि आक्रमण गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Jul 24, 2022

प्रतिक्रिया दिनुहोस्