Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा सोमबारसम्ममा नाै हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एबं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म ऐसेलुखर्क, केपिलासगढी, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश क्षेत्रमा रोपाइ भइसकेको छ ।

यस्तै, जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र रावाबेँसी गाउँपालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाई भइरहेको छ । बेँसी क्षेत्रमा १५ साउनपछि पनि रोपाइ हुने गरेको छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका धान रोप्ने गरिन्छ ।

दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरेलगायत ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको छ । सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने तीन हजार आठ सय दुई हेक्टर क्षेत्रमा धान रोपाई हुने गरेको छ ।

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्