Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानाथारू समुदायका लोककथा र मिथकबारे इन्द्र चौधरीले निकाले पुस्तक

रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका इन्द्र चौधरीको अनुसन्धानात्मक किताब प्रकाशन भएको छ । उनले लेखेको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारू समुदायमा रहेको प्रचलित लोककथा र त्यसको मिथकबारे किताब मुख्य विषयवस्तु बनाइएको छ ।

‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन् । यसमा लोकआस्था, लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्छन्, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो । एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत हुने गर्छ । त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरी संरक्षणको आवश्यक छ ।’

उनी डँगौरा थारू परिवारमा जन्मिए पनि उनको क्षेत्रमा रानाथारू बाहुल्य रहेको आफू त्यसकै प्रभावमा हुर्के बढेको उल्लेख गरेका छन् । ‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज पनि सुक्षम ढंगले नियाल्ने र बुझ्ने मौका पाए तर वर्तमान समयमा आधुनिकताका प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो । र, लोककथा संकलन गर्न थालेँ र आज पुस्तकारको रूपमा आएको छ,’ उनले भने ।

किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथा संग्रहित छन् । त्यस्तै पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्तीहरू पनि समावेश गरिएका छन् ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्