Logo
८ बैशाख २०८१, शनिबार
(July 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको लगानीले विदेशमा भन्दा बढी प्रतिफल दिन्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारी, रुस-युक्रेनबीचको युद्धका कारण नेपालमा आर्थिक तरलता देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा लण्डनमा आइतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ढकालले यस्ताे बताएका हुन् ।
उनले नेपालकाे आर्थिक तरलताकाे संकट हटाउन सहयाेग गर्न पनि अपिल गरे ।

उनले साे अवसरमा नेपालमा लगानीका प्रशस्त सम्भवना रहेको बताउँदै बेलायतमा गरिने लगानीभन्दा नेपालको लागानीमा बढी प्रतिफलयुक्त हुने दावी गरे । बेलायतमा रहेका नेपालीले समूहिक लगानीको अवधारणमा अघि बढेर नेपालमा लगानी गर्न उनले आग्रह गरे । उनले नेपालमा विदेशी मुद्रा कमी भएपछि सरकारले डलर खाता खोल्न सुविधा दिएको चर्चा गर्दै विदेशी मुद्रामा खाता खोलेर लाभान्वित हुन अनुरोध पनि गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले समय अनुकुल पत्रकारहरूले क्षमतावृद्धि गर्दै जानु पर्ने जोड दिए । कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपप्रमुख रोशन खनालले महासंघ यूकेलाई पत्रकारको हकहित र समाजलाई सुसूचित गर्न क्रियाशील रहन आग्रह गरिन् ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाले नेपाल पत्रकार महासंघ यूके शाखामा भएको एकता अतुलिनय भएको बताउँदै पत्रकारहरुको संस्थाबाट गैरआवासीय नेपाली संघले पाठ सिक्नु पर्ने बताए । उनले संघभित्र देखिएका समस्याहरुको उचित निकास निकाल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ (एफएनजे) यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकारहरु नवीन पोखरेल र खेमराज रानाभाट पुरस्कृत भएका छन् । बेलायतमा १० वर्षदेखि सकृय ४ वटा मिडियालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Jul 11, 2022

प्रतिक्रिया दिनुहोस्