Logo
४ बैशाख २०८१, मंगलबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ऐना झ्यालको पुतली’ २४ भदौमा

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

लेखक÷निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठसहित कलाकारको अभिनय छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङे छ ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्