Logo
११ बैशाख २०८१, मंगलबार
(June 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दिबासका जनप्रतिनिधिको चुनौती : रातु खोला दोहन नियन्त्रण

‘यहाँका जनप्रतिनिधिलाई रातु खोलाले खान्छ, बर्दिबासका जनप्रतिनिधि सफल वा असफल बन्ने रातु नदीमाथि निर्भर ।’ बर्दिबास–३ का भाष्कर दाहालले भने ।

बर्दिबास नगरपालिकाभित्र मुख्य मुद्दा बनेको रातु नदी दोहन हरेक जनप्रतिनिधिको सफलता र असफलताको मापन बन्ने गरेको छ । नदी आसपासका क्रसर उद्योगहरूको मनोमानीमाथि नियन्त्रण गर्न अघिल्लो स्थानीय सरकार मूकदर्शक बनेका कारण नवनिर्वाचित जनप्रतिनिधिमाथि चुनौतीका चाङ थोपरिएका छन् । दाहालले भने जस्तै लोकप्रियताका लागि अघिल्लो सरकारले योजनाहरू त बनायो तर कार्यान्वयनमा आउन सकेनन् । बर्दिबासका नवनिर्वाचित जनप्रतिनिधि तथा नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि पछिल्लो समय सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनमा कतिको दरिलो बन्नेछन् भन्ने मुख्य बिषय बनेको छ ।

नगरभित्र झन्डै २१ वटा क्रसर उद्योग छन् । पूर्वनगरप्रमुख विदुर कार्कीका अनुसार धेरैजसो क्रसर उधोग मापदण्डविपरित छन् । उद्योगहरू मापदण्ड विपरित भएको थाहा हुँदाहुँदै कार्कीले पाँच वर्षे कार्याकाल योजना र प्रतिबद्धता फिजाउँदै समाप्त गरे ।

अझ नवनिर्वाचित नगरप्रमुख क्षेत्रीको पृष्ठभूमि क्रसर व्यवसायी नै हो । यसैकारण पनि नगरप्रमुख क्षेत्रीको अग्निपरीक्षा सुरु भएको स्थानीयको अनुमान छ । हुन त नगरप्रमुख क्षेत्रीले यसअघि नै क्रसर र अवैध उत्खनन्लाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाइसकेका छन् । नगरभित्रका गलत प्रणालीलाई निमिट्यान्न बनाउन उनले ६ महिनाको समय मागेका छन् ।

अवैध उतखनन् कै कारण नगरभित्रका पशुपतिनगर, पाटु, किसाननगर जस्ता ठाउँ जोखिममा छन् । प्रत्येक वर्ष मापदण्डविपरित उतखनन् गरिएका वालुवा, ढुंगा, गिटीका कारण नागरिकले धनजनको क्षति ब्यहोर्दै आएका छन् । बाढीले बर्षाैपिच्छे बिघाैं जग्गालाई बगर बनाइरहेको आँखा अगाडि नै देखिँदा पनि जनप्रतिनिधिहरूको भूमिका शून्य देखिएको छ ।

यी सबै चुनौतीबीचमा नगरप्रमुख क्षेत्री अन्य जनप्रतिनिधिभन्दा फरक कसरी बन्न सक्छन् भन्ने अहिले आमनगरवासीको मुख्य चासो बनेको छ । यसैबीच नगरप्रमुख क्षेत्री बुधबार खोला अनुगमनमा गएका थिए । उनले पशुपतिनगर क्षेत्रमा उतखनन् कारण स्थानीयले भोगेको सास्तीबारे जानकारी लिए ।

नदी उतखनन् मात्र हैन प्राकृतिक सम्पदा दोहन र अतिक्रमण पनि नगरभित्रका मुख्य समस्या हुन् । खयरमाराभित्रका जंगलदेखि सामुदायिक संरक्षित जंगलहरू अहिले अतिक्रमणको चपेटामा छन् ।

अतिक्रमण नियन्त्रण गर्न नगरले ठोस निर्णय गर्न नसक्दा भू–माफियाहरूको चलखेल समेत त्यतिकै बढेको छ । बर्दिबासस्थित वडा नम्बर ३ मा त नदीको ड्यामसम्म पुगेर खेतिपाती गरेको समेत भेटिएको छ ।

यी सबै दृष्टान्तहरू जनप्रतिनिधिहरुलाई थाहा पनि छ । तर, थाहा नपाएजस्तो गर्नुले जनप्रतिनिधिमाथि गम्भीर प्रश्न बनेको छ । समुदाय मिलेर संरक्षण गरेको जंगल आँखै अगाडि अतिक्रमण हुँदा दुःख लाग्ने बताउँछन् बर्दिबास–३ पाटुका देवीप्रसाद घिमिरे ।

यी सबै समस्या र चुनौतीलाई नगरप्रमुख क्षेत्रीले कसरी सम्बोधन गर्लान भन्ने थाहा पाउन भने एक बर्ष अझै कुर्नुपर्ने स्थानीयको भनाइ छ । खोला दोहन तथा प्राकृतिक सम्पदाको दोहनमा बर्दिबासको चर्चा बेलाबेलामा राष्ट्रिय रुपमा नै हुने गर्छ ।

प्रकाशित मिति: Jun 19, 2022

प्रतिक्रिया दिनुहोस्