Logo
४ बैशाख २०८१, मंगलबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्मजस्तो हृदय छुने घटना : बाल्य अवस्था देखि छुट्टिएका दिदी–भाइबीच ४२ वर्षपछि भेट

सन् १९७० को दशकमा मेरी क्याथरिन नामक महिला कोयम्बटुरमा ‘ब्लू माउण्टेन’ नामक एक बालगृह चलाउने गर्थिन् । त्यही समयमा अयावु र सरस्वती नामका दम्पतीले तिनका दुई बच्चा विजया र राजकुमारलाई बालगृहमा छाडिदिएका थिए ।

पछि सन् १९७९ मा राजकुमारलाई डेनमार्कको एक दम्पतीले धर्मपुत्रका रूपमा स्वीकार्यो । नयाँ अभिभावकले उनको नाम क्यास्पर एण्डरसन राखिदिए । उता राजकुमारकी दिदी विजयालाई अमेरिकी दम्पतीले स्वीकारे र उनलाई डायन विजया कल नाम दिइयो ।

४२ वर्षसम्म दुई दाजु बहिनीले एकअर्कासँग भेटघाट त परको कुरा, दुई जना कहाँ छन् भन्ने पनि थाहा पाएनन् । अहिले आएर डिएनए परीक्षणपछि दुई जनाबीच भेटघाट भएको छ।

डायनालाई आफ्नो भाइ छ भन्ने थाहा थियो तर छुट्टिने बेला क्यास्पर निक्कै सानो भएकाले उनलाई आफ्नो दिदी छ भन्ने कुरा स्मरणमै थिएन ।

डायनलाई हुर्किरहँदा परिवारका अन्य श्वेत सदस्यभन्दा आफू निक्कै अलग महसुस हुन्थ्यो । ‘तीन वर्षको उमेरमा आमाले बाल गृहमा छाडेको मलाई सम्झन्छु ।

साथमा भारतसँग जोडिएका सम्झना पनि दिमागबाट हटेन । यसको मतलब फेरी मलाई हुर्काउने परिवारले मेरो राम्रो स्याहार गरेन भन्ने होइन,’ डायनले भनिन् ।

क्यास्परलाई पनि सानै उमेरदेखि आफू हुर्किरहेको परिवारभन्दा आफू फरक महसुस भएको थियो । उनको छालाको रंगले नै उनलाई त्यसो महसुस गराउँथ्यो ।

‘सन् २०१५ र सन् २०१९ मा कोयम्बटूर जादाँ हामीलाई सानोमा छाडिएको बालगृह बन्द भइसकेको पाएँ । बालगृहसँग जोडिएका मानिसले विगतका फोटो दिने बाहेक केही गर्न नसकेपछि म निराश भएर फर्किएँ ,’ क्यास्परले भने ।

यसबीच उनका एक मित्रले उनलाई डीएनए टेस्ट गर्न सुझाए । ती मित्रले केही कम्पनीले डीएनए नमुना जाँच गरेर त्यसलाई पहिले कम्पनीको भण्डार गरेको स्याम्पलसँग मिलाउने पनि बताए । आफ्नो परिवार चिन्ने अपेक्षामा क्यास्परले ‘एनसेस्टरी’ नामक एक फर्ममा डीएनए स्याम्पल दिए ।

आमा खोज्दा दिदी भेटिइन्

डिएनए स्याम्पल दिएपनि क्यास्पर त्यति उत्साहप्रद थिएनन् । तर केही महिनापछि अमेरिकाको उताहबाट माइकल नामको एक व्यक्तिले उनलाई फोन गरेर उनको डीएनए स्याम्पल क्यास्परको स्याम्पलसग धेरै हदसम्म मिल्ने बताए । माइकलले पनि ‘एनसेस्ट्री’कै शाखामा डीएनए परिक्षण गराएका थिए ।

यता डायन उनको तर्फको कथा भन्छिन् ,‘ मेरो छोरा माइकलले एक दिन अचानक फोन गरेर ‘आमा मैले तपाईंका केही नातेदार भेट्याएँ’ भन्यो । ’

डायनलाई उनको भाइ छ भन्ने सम्झना त थियो तर माइकलको कुरा सुन्दा उनलाई त्यतातर्फ हेक्का भएन । पछि पो छोराले पत्ता लगाएको नातेदार आफ्नै भाइ भएको पत्ता लाग्यो । ​क्यास्परका अनुसार माइकलले नै फोनमा उनको आमालाई भारतीय बालगृहबाट अमेरिकी परिवारले लगेर हुर्काएको बताएका थिए ।

‘खासमा म भारतमा आफ्ना आमाबुवा खोजिरहेको थिएँ । मलाई त मेरो दिदी छन् भन्ने कहिल्यै दिमागमा आएन । सन् २०१९ मा पहिलो पटक दिदीसँग मेरो कुराकानी भयो ,’ क्यास्परले भने ।

एक अर्काको अस्तित्व थाहा भए पछि पनि लकडाउनको कारण उनीहरूबीचको भेटघाट सम्भव भएन । उनीहरूबीचको भेटघाटको लागि यो वर्षको फेब्रुअरी महिना पर्खनुपर्‍यो ।

यसबीच क्यास्परले ‘२३एण्ड मी’ नामक कम्पनीमा पुनः डीएनए दिएका थिए । सो कम्पनीमा डायनले पहिले नै उनको डिएनए दिएकी थिइन् । दुई जनाको डीएनए १०० प्रतिशत मिल्यो ।

‘बालगृहको एक फोटोमा मभन्दा पछाडि एक केटी उभिएको देखिन्छ। उनी नै मेरी दिदी रहेछिन् ,’ क्यास्परले भने ।डायनका अनुसार दुई जनाबीच पहिलो पटक कुराकानी हुँदा नै उनलाई क्यास्पर आफ्नो भाइ हो भन्ने महसुस भएको थियो ।

डायन र क्यास्पर अहिले नियमित कुराकानी गर्छन् । दुई जनाले छिट्टै भारतमा आफ्नो परिवारका नातेदार खोज्ने योजना बनाएका छन् ।

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्