Logo
१५ चैत्र २०८०, बिहीबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाले भैरहवाका बजार जलमग्न : निकाश र नाली पुरिएका कारण सडकमै पानी

शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ ।

पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्मेको समस्या खेप्दै आएका छन् । डुबान र जलमग्नको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।

विगतका वर्षदेखि यो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र प्लास्टिक लगायतका फोहोरले वर्षाको पानी सडकमा जम्ने गरेको छ ।
भैरहवामा ३० दशमलव २ मिलिमिटर पानी परेको भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाएपनि हाल सेवा सुचारु भएको छ ।

सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडकमा पानी जम्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्