Logo
६ बैशाख २०८१, बिहीबार
(May 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा ३ पालिकामा खुम्चियो जसपा : उपेन्द्रकै निर्वाचन क्षेत्रमा पनि पराजित

संघीय र प्रदेश सरकारको सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश स्थित सप्तरी जिल्लामा ३ ओटा पालिकामा खुम्चिएको छ ।

अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत यो पार्टीलाई ठूलो क्षति भएको छ । २०७४ सालको निर्वाचनमा ५ पालिका जितेको जसपा यसपटक ३ सिट मात्रै जितेको छ ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालले जिल्लाको खडक, बोदे बर्साइन नगरपालिका तथा महादेवा, तिरहुत र बलान बिहुल गाउँपालिका जितेको थियो ।

संघीय समाजवादी फोरम र तत्कालिन राजपा मिलेर जसपा बन्दा पूर्व राजपाबाट जितेका ५ मध्ये ४ पालिका प्रमुख जसपामै रहेका थिए ।

यस्तै, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति जसपामा मिल्दा सो पार्टीले जितेको एक पालिका पनि जसपाकै भागमा परेको थियो ।

तत्कालिन राजपाले जितेको हनुमाननगर कंकालिनी, डाक्नेश्वरी राजविराज नगरपालिका र रुपनी गाउँपलिकाका प्रमुख जसपामै रहे ।

नयाँ शक्तिले जितेको छिन्नमस्ता गाउँपालिका प्रमुख पनि जसपामै आए । यसरी हेर्दा १० पालिका जसपाको थियो ।

तर, यस पटकको चुनावमा जसपाले मात्र तीन पालिका जितेको छ । यस पटक जसपाले राजविराज, बोदे बर्साइन नगरपालिका र विष्णुपुर गाउँपलिका जितेको छ ।

राजविराज र बोदे बर्साइनमा प्रमुख र उपप्रमुख दुबै जितेपनि बिष्णुपुरमा प्रमुख पद मात्रै जितेको छ । यहाँको उप प्रमुखमा कांग्रेस विजयी भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र हो सप्तरी क्षेत्र नम्बर २ । सदरमुकाम राजविराजसहित महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ वटा पालिका यो क्षेत्रमा पर्दछ ।

तर, राजविराजबाहेक कुनै पनि पालिकामा जसपा विजयी हुन सकेन । राजविराजमा जसपाका भीमराज यादव प्रमुखमा निर्वाचित भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस, महादेवाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

छिन्नमस्तामा पनि अत्यधिक मतका साथ लोसपाका उम्मेदवारले अग्रता लिएका छन् । यहाँ दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् ।

प्रकाशित मिति: May 21, 2022

प्रतिक्रिया दिनुहोस्