Logo
१५ चैत्र २०८०, बिहीबार
(April 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कोशीको सबै विद्यालयहरुमा अनिवार्य स्थानीय विषयको पठनपाठन हुने

प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालिका अन्तरगतका सबै विद्यालयमा अब अनिवार्य स्थानीय विषयको पठनपाठन हुने भएको छ ।

संघीय अवधारणा अनुसार पाठ्यक्रम विकास केन्द्रले अधारभूत तहमा अनिवार्य विषयहरु मध्ये एउटा स्थानीय विषयको पठनपाठन हुनुपर्ने ब्यवस्था गर्दै मार्गनिर्देशन जारी गरेपछि कोशीले आफ्नै पाठ्यक्रम र पाठ्यपुस्तकहरु तयार पारेको हो ।

स्थानीय भाषा, संस्कृति, इतिहास, नेतृत्व योगदान, रितिरिवाज, रहनसहन, धार्मिक मुल्यमान्यता लगायतका विषयबस्तुहरु समेटिएर तयार पारिएको उक्त पाठ्यपुस्तकहरुको हिजो विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष ऎयुब अन्सारीले पालिकाको आफ्नै विषय तयार पारेर आफूहरूले इतिहास कायम गरेको बताउनुभयो ।

“स्थानीय इतिहास लेखन गर्न हामि सफल भएका छौं, केहि त्रुटि, छुट्पुट भए पछि परिमार्जन गरिनेछ” अध्यक्ष अन्सारीले भन्नुभयो -“अब यस पालिकाका विद्यार्थीहरु राष्ट्रिय सहित स्थानीय विषयमा पनि सक्षम हुनेछन् ।”

नयाँ संविधानसँगै लागु भएको संघीय अवधारणा अनुसार पाठ्यक्रम विकास केन्द्रले ७ ओटा अनिवार्य विषयहरु मध्ये ५ ओटा राष्ट्रिय विषय, १ ओटा प्रादेशिक विषय र १ ओटा स्थानीय विषय पठनपाठन गर्नुपर्ने मार्गदर्शन बनाएको हो ।

कोशी गाउँपालिका प्रकाशक रहेको उक्त पाठ्यक्रम र पाठ्यपुस्तकहरुको संयोजन सिभिल मिडिया एण्ड रिसर्च सेण्टरले गरेको छ।

कोशीको स्थानीय अनिवार्य विषयको नाम कक्षा १-५ सम्म मेरो कोशी र कक्षा ६ देखि ८ सम्म हाम्रो कोशी राखिएको छ ।

राष्ट्रिय तथा स्थानीय लेखक सहित ३५ जना विज्ञहरुद्वारा सामुहिक रूपमा तयार पारिएको उक्त पाठ्यक्रम र पाठ्यपुस्तकहरुको लेखन संयोजन वरिष्ठ पत्रकार तथा लेखक/रिसर्चर वीरेन्द्र केएमले गर्नुभएको छ ।

केएम नेतृत्वको यो संयोजन संस्था सिभिल मिडिया एण्ड रिसर्च सेण्टर पाठ्यक्रम विकास केन्द्रमा आवद्ध संयोजन संस्था समेत हो ।

यो संस्थाले देशभरका विभिन्न प्रदेशमा गरि ३ दर्जनबढी पलिकाको पाठ्यक्रम र पाठ्यपुस्तकहरु तयार पारिसकेको छ ।

सिभिल रिसर्चले त्रिभुवन विश्वविद्यालयको संघीयता विषयको समेत संयोजन गर्दैछ भने लोकसेवा आयोगको नयाँ पाठ्यक्रमको संयोजन कार्य पनि यसै संस्थाले गरिरहेको छ ।।

प्रकाशित मिति: Apr 23, 2022

प्रतिक्रिया दिनुहोस्