Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनको युद्ध सुरु भएयता तीन सय करोड डलर बराबरको सैनिक सहायता दिइसकिएको बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेको बताएको बीबीसीले जनाएको छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणको दुई महिना पुग्नै लागेको छ ।

रुसले हिजो बिहीवार युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन् ।

यद्यपि रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै गाउँ कब्जा गरेको उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्