Logo
१२ जेष्ठ २०७९, बिहीबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट एसइई परीक्षा सुरु, ५ लाख १५ हजार परीक्षार्थी सहभागी

शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसइईै) आजबाट सुरु हुँदै छ । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन।

कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसइई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसइईमा सहभागी हुने बोर्डले जनाएको छ ।

प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।एसइईमा सबैभन्दा बढी काठमाडौँबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ ।सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ ।

बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तर पुस्तिका संपरीक्षण गर्नेछ ।

बोर्डले यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ । अब जतिसुकै उमेरकाले परीक्षा दिन पाउनेछन् । यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो ।एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशित गर्ने बोर्डको योजना छ।

 

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्