Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरुङबाट रेल काठमाडौं कहिले आइपुग्छ त्यो अहिले भन्न सकिदैन : राजदूत यान्छी

चिनियाँ राजदूत होउ यान्छीले केरुङबाट रेल काठमाडौं कहिले आइपुग्छ त्यो अहिले भन्न नसकिने बताएकी छन् । उनले (डिटेल फिजिविलिटी स्टडी) पूरा भएपछि मात्र निर्माणको समय टुंगो लाग्ने बताएकी हुन् ।

बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत यान्छीले केरुङ(काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन डिटेल फिजिविलिटी स्टडी पूरा भएपछि मात्रै कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्न सकिने बताएकी हुन् ।

चिनियाँ राजदूत यान्छीले बीआरआइका परियोजनाहरु अनुदानमा निर्माण हुने नभएको बताइन् । उनले रेलमार्ग निर्माणमा आवश्यक पर्ने आर्थिक पक्षको बारेमा समेत नेपाल(चीनबीच गहन छलफल हुनुपर्ने बताइन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको हालै भएको नेपाल भ्रमणका क्रममा समेत रेलमार्ग अगाडि बढाउन दुवै पक्षबीच थप सहमति भएको थियो।

२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। अन्तरदेशीय रेल्वे सेवा विस्तार सम्बन्धमा प्रत्येक वर्ष दुई पटक नेपाल-चीनबीच रेल सेवा विस्तारसम्बन्धी द्विपक्षीय वार्ता हुँदै आएपनि यसले कुनै कामको मोडल तय गर्न सकेको छैन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्त्वपूर्ण समझदारी भएपछि यसको कार्य पनि अघि बढेको हो।

सम्भाव्यता अध्ययनसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि चीनकै आर्थिक तथा प्रविधि सहयोगमा निर्माण गर्न नेपाल आग्रह गर्दै आएको छ। चीनले निर्माण गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं-केरुङ रेलमार्ग जटिल भौगोलिक संरचनामा निर्माण गर्नुपर्नेछ। रसुवागढी सीमा नाकादेखि काठमाडौंसम्मको दूरी ७२.२५ किलोमिटर हुनेछ।

रेलमार्गको ९८.५ प्रतिशत खण्ड पुल तथा सुरुङमा रहनेछ। यसमा चारवटा स्टेसन रहनेछ भने सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। रेलमार्ग निर्माण गर्न करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

सम्भाव्यता अध्ययन चीनबाट हुने भए पनि डीपीआर निर्माणका लागि सहमति हुन बाँकी छ। डीपीआरसम्म चीनले नै निर्माण गरिदिने प्रति नेपाली पक्ष आश्वस्त देखिएका छन्। डीपीआर तयार भइसकेपछि मात्र रेलमार्ग निर्माणको लगानीको मोडालिटीको बहस छेडिनेछ।

केरुङ-काठमाडौं लम्बाइ ७२ किलोमिटर छ। तर, चीनको सिगात्सेसम्म रेलमार्ग प्रस्ताव गरिएको छ। सो ठाउँबाट केरुङ हुँदै काठमाडौंसम्म ६ सय किलोमिटर दूरी छ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्