Logo
१३ बैशाख २०८१, बिहीबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरि ‘राम नवमी’ पर्व मनाइँदै, आज सार्वजनिक बिदा

आज देशभरि चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा हरेक चैत्र शुक्ल नवमीका दिन राम नवमी पर्व मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने राम नवमी पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । ‘व्रतार्क’ नामक धर्मग्रन्थका अनुसार आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने उल्लेख छ ।

त्रेता युगमा आजकै दिन राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतारका रूपमा भगवान् श्रीरामको जन्म भएको र त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी राम गीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ ।

पितृ मातृ भक्त, ठुलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गर्ने गरिन्छ ।

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्य लोकमा जन्म लिएको बताइन्छ ।

राम नवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ ।

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा राम नवमी पर्व मनाउन थालिएको बताइन्छ ।

राम नवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका-९ स्थित आरुवारिमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ ।

राम नवमीको अवसरमा (आइतबार) सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्