Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाद्वारा सीमाको विषयमा छलफल : नेपाल र भारतको जस्तो मित्रता विश्वमा कहीँ छैन : मोदी

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं ।

र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ ।’नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ ।

दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन । सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका दौरानमा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । जसको अहिलेसम्म बैठक बनेको छैन ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणमा तीव्रता दिएको बताएका थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन् । हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’
मोदीले सम्बोधनका क्रममा अगाडि भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ ।’

यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ‘रुपे’ उद्घाटन गरेका थिए । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारत प्रतिबद्ध पनि रहेको उनले बताए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत-नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएको बताए ।

प्रकाशित मिति: Apr 2, 2022

प्रतिक्रिया दिनुहोस्