Logo
१३ बैशाख २०८१, बिहीबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा ३० वर्षीया महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार

प्रदेश नं १ स्थित मोरङमा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका- ४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलामाथि सामूहिक बलात्कार भएको हो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् ।

उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो विसिइन् । बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे ।

सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।

सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन् । अस्पताल लैजाँदा होटल सन्चालक अर्जुन पनिसँगै आएका थिए । उनलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको हो ।

होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् ।

बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् ।पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए ।

 

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्