Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशको नाम राजपत्रमा प्रकाशित, चुच्चे नक्सा भने गायब

मधेश प्रदेश सरकारले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

’प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको ब्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरणसमेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

तर राजपत्रमा प्रकाशित गरेको सूचनामा चुच्चे नक्सा गायब भएको छ ।भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेश प्रदेशको राजपत्रबाटै गायब भएको हो ।

माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ । मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन् ।

२०७७ जेठ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो । तर प्रदेश २ बाट मधेश प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो ।

तर यसबारेमा प्रदेशसभा र मधेश प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन । चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्