भेरोसेल खोपको अभाव भएपछि पहिलो र बुस्टर डोज रोक्न सरकारको निर्देशन
सरकारले चिनियाँ भेरोसेल खोपको अभाव भएपछि पहिलो र बुस्टर डोज खोप नलगाउन निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन भनेको हो ।
४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ ।
भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । बुधबारदेखि नै भेरोसेलको मात्र एउटा खोप केन्द्रलाई दुई सय डोज भन्दा कम पठाउन थालिएको पनि विभागले जनाएको छ ।
सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम गर्नेलाई बुस्टर खोप लगाउने निर्णय गरे पनि खोप अभावक कारण भेरोसेल खोप लगाएका अधिकांश फ्रन्टलाइनरहरु पनि बुस्टर डोजबाट बञ्चित भएका छन् ।
बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरुमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरु आक्रोशित हुँदै फर्किएका थिए ।
विभागले कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोपको मात्रा बढी रहेको भन्दै सोही खोप लगाउन जोड दिएको छ । पहिलो मात्रा लगाउन चाहनेहरुलाई पनि सोही खोप दिन भनिएको छ ।