Logo
२६ आश्विन २०८१, शनिबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपिएफले जित्यो प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेटको उपाधि

सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्‍यो । एपिएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो ।

जवाफमा पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे तापनि त्यो जीतका लागि पर्याप्त भएन ।

५४ बल खेलेका दीपेन्द्रले तीन चौका र दुई छक्काको मद्दतमा ६५ रनको योगदान दिएका हुन् । त्यसै गरी, दिलीप नाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । गुल्सन झाले ५, रासिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्र सिंह कार्कीले एक रन जोडे ।

एपिएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एकरएक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण विक शून्य रनमा आउट भए ।

त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने गुलशन झाले २ विकेट लिए । त्यस्तै, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक/एक विकेट झारे ।

 

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्