Logo
८ बैशाख २०८१, शनिबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि स्वस्थानी व्रत तथा माघस्नान सुरु

आजदेखि स्वस्थानी व्रत तथा माघस्नान सुरु हुँदैछ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आजदेखि सुरु भएको हो ।

पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ । बिहानमा नित्य स्नान गरी मध्यान्हकालमा महादेवको पूजाआजा गर्ने गरिन्छ भने साँझमा स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ ।सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशन अनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

यस अवधिमा रातमा जाग्राम बसेर देवी माहात्म्य सुन्ने सुनाउने गरिन्छ । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानी अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ ।

सुवर्ण वर्णकी, त्रि-नेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा वर्णन गरिएको छ । यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ ।

स्वस्थानी व्रत बसेमा रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

उपत्यकाको उत्तरपूर्वी भेगमा पर्ने साँखुस्थित शालिनदीमा आजैदेखि माघ स्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ । तर, कोरोना संक्रमण बढेकाले यस वर्ष पनि माधनारायण मेला नगरी ब्रत मात्र गर्ने गरी तयारी गरिएको छ ।

बर्तालुका लागि शालि नदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।बर्तालुहरु आज साँझदेखि नै साँखुमा वास बस्न जाने गर्दछन् ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्