Logo
२७ आश्विन २०८१, आईतबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासनद्वारा कोरोना तीव्ररुपमा बढेपछि सुर्खेतमा १२ बुँदे आदेश जारी

कर्णाली प्रदेश स्थित सुर्खेतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि जिल्ला प्रशासन कार्यालयले १२ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन शनिबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त आदेश जारी गरेको प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वयको सिफारिस एवं गृह मन्त्रालयको निर्णय बमोजिम आदेश जारी गरेको हो ।जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयहरूले विगतमा संचालन गरेका एमबुलेन्स, कोभिड १९ उपचार तथा आइसोलेशनलाई सुदृढगरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ , ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने, खोप कार्ड मोबाइलमा फोटो भए पनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् भने पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ । सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।’

 

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्