Logo
२८ आश्विन २०८१, सोमबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजगढ फास्ट ट्र्याकमा कानुनी अड्चन हटाइदिन नेपाली सेनाको माग

निजगढ फास्ट ट्र्याकमा कानुनी अड्चन हटाइदिन नेपाली सेनाले माग गरेको छ ।राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले कानुनी अड्चन आएको बताउँदै त्यसलाई हटाइदिन आग्रह गरेका हुन् ।

निजगढ फास्ट ट्र्याक आयोजनाको जिम्मा पाएको थियो उक्त काम सम्पन्न गर्नका लागि कानुनी अड्चन रहेको भन्दै नेपाली सेनाले बैठकमा अड्चन हटाइदिन आग्रह गरेको हो ।

रुख कटानसम्बन्धी कानुनको अड्चनले निर्धारित समयमा फास्ट ट्र्याक सम्पन्न गर्न समस्या पर्ने पोखरेलको भनाइ थियो । वन मन्त्रालयबाट पनि अहिले सहजीकरण गरिदिएका छन् ।

‘नियममा नभएको कुरा त उहाँहरूले पनि गर्न सक्नुहुन्न । केही नियम परिवर्तन गर्न सकिन्छ कि ! फास्ट ट्र्याकका लागि नियम परिवर्तन गर्न सकिन्छ कि भन्ने हो,’ उनले भने, ‘सबैबाट सहयोग भइरहेको छ तर केही कानुनका कारण समस्या भएको छ । त्यसमा परिवर्तन गर्नका लागि सहयोग हुन्छ कि भन्ने हो । कानुनी समस्याका कारण समयमा सक्नका लागि गाह्रो पर्न सक्छ ।’

व्यक्तिले ढिलो नगरेको तर प्रणाली र प्रक्रिया नै ढिलो भएको पोखरेलको भनाइ थियो । आयोजनाका काममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोग रहेको उनले बताए ।

आयोजनाको बाँकी काम सुचारु गर्नका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको र निर्माण सामग्री पनि चीनबाट आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

फास्ट ट्र्याकको जिरो किलोमिटर खोकना(बुङमतीको समस्या भने समाधान भई नसकेको पोखरेलले जानकारी दिए । उक्त समस्या समाधान गर्नका लागि विभिन्न विकल्पबारे छलफल जारी रहेको पनि उनले बताए । ‘त्यो ठाउँमा अहिले जग्गा मुआब्जामा चित्त नबुझेको हो,’ उनले भने ।

फास्ट ट्र्याकको जिम्मा नेपाली सेनाले २०७४ साउन महिनामा पाएको थियो । उसले २०७६ भदौबाट निर्माण कार्य सुरु गरेको थियो । उक्त आयोजना २०८१ सम्म सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले निर्धारित समयमा नसकिने आशङ्का बढेको छ ।

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्