केएमसीको अतिरिक्त शुल्क विवादबारे जानकारी लिन पुगे शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) को आज अनुगमन गर्न पुगेका छन् ।
बिहीबार बिहान भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् ।
मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए । केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावक प्रदर्शनरत छन् ।
अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् ।
उता गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
काठमाडौँ मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन काठमाडौंमा उजुरी दिएपछि बिहीबार प्रशासनले कलेज प्रशासन र विद्यार्थीलाई डाकेको छ ।
गृह मन्त्रालयले कारबाहीको निर्देशन दिएपनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ ।
आयोगले सोधेको स्पष्टीकरणमा कलेजहरूले अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाए पनि विद्यार्थीसँग मागिरहेका छन् ।