Logo
२३ आश्विन २०८१, बुधबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘सभ्यताको आगो यहाँ बालिइयो तर त्यसमा दाउरा र घिउ थप्ने काम नहुँदा निभेर गयो’

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विस्तार हुन नसक्दा आफ्ना पूर्वजले आर्जन गरेको ज्ञान सीमित क्षेत्रमा खुम्चिन पुगेको बताएका छन् ।

संस्कृति बचाउ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु कसैको तुलना हुन नसक्ने भन्दै सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको दाबी गरे ।

ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए ।

उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई सधैँ आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनभन्दा हजारौँ वर्षअघि महान् खगोलविद् भास्कराचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए ।

उनले अष्टवक्रजस्ता दार्शनिकहरूको चर्चा हुन नसकेको उल्लेख गर्दै भने, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । यो सभ्यताको सृष्टि र विकास भएको ठाउँ हो । पछि अन्त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति परपर जानु स्वाभाविक पनि हो ।’‘यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्किए‚’ उनले भने ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

विस्तार हुन नसक्दा आफ्ना पूर्वजले आर्जन गरेको ज्ञान सीमित क्षेत्रमा खुम्चिन पुगेको बताउँदै अध्यक्ष ओलीले यो ज्ञानभूमि भएको समेत दाबी गरे ।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्