Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाद मिलेसँगै ट्वान्टी-२० छनोट खेलका लागि बन्द प्रशिक्षणमा उपस्थित भए ३० खेलाडी

नेपाल क्रिकेट संघको विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् ।

क्रिकेट खेलाडी र क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन् ।

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए ।

वर्गीकरणको विषयपछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताए । मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताए ।

बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै उनले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागको सुनाए । यद्यपि आफू सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको उनको भनाइ छ ।

मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए । यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको जानकारी दिए ।

इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो ।

क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्