नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच सम्झौता
नेपाल वायु सेवा निगम र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षण भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङबीच प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको उल्लेख गरिएको छ ।
मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिएका थिए ।
यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका विषय अक्षरशः पालना गर्ने प्रतिवद्धता व्यक्त गरे ।मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।