माओवादीको राष्ट्रिय सम्मेलन उदघाटनमा ११ दललाई बोलाउने
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन उदघाटनमा ११ दललाई निम्तो दिने निर्णय गरेको छ ।यो निर्णयलाई औपचारिकता दिन पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक बसिरहेको छ ।
दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको हो ।
माओवादीको आजदेखि काठमाडौँमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ ।
यसअघि राष्ट्रिय सम्मेलनमा नबोलाउने निर्णय गरेको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
यस अवसरमा आइतबार बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् ।
प्रचण्डले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसुमदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् ।