Logo
१३ बैशाख २०८१, बिहीबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामन्त्री पौडेलको प्रश्न : कतै नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको बताएका छन् ।

साथै पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भने,’कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की ?  वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौँ, सोच्नुपर्ने बेला आएको छ ।’

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे ।

मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रस्ट्याए ।

उनले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिए । सिकेका सीपलाई राष्ट्र विकासको एक सूत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

उनले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठुलो धनराशि रोक्नुपर्नेमा जोड दिए ।

उनले देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे ।

अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुझाव दिँदै शिक्षामन्त्री पौडेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्