पार्टी सभापति पदमा मेरो दाबी कायमै छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसको पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको नेता प्रकाशमान सिंहले बताएका छन् ।
काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले १४ औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।
कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको सिंहले बताए ।
कांग्रेसको संस्थापन इतर समूहमा सभापति पदका आकाङ्क्षीहरूले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुङ्गो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो ।
संस्थापन इतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकाङ्क्षी छन् ।
शशांकले सहमति भए आफू पछि हट्ने बताएका छन् भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताएका छन् ।