Logo
१३ बैशाख २०८१, बिहीबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको स्वीकृति

नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृति पाएको छ ।टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

प्राधिकरण बोर्डले परीक्षणको अन्तिम स्वीकृति दिनु पूर्व नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरेको थियो ।

समितिको निर्णयपछि प्राधिकरणले गत साउनमा ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ जारी गर्दै कानुनी बाटो खुला गरेको थियो ।

कार्यविधिमा फाइभजी परीक्षणका प्रावधान उल्लेख गरिएको छ ।जसअनुसार परीक्षणको अनुमति पाउने दूरसञ्चार सेवा प्रदायकले एक वर्षसम्मका लागि दस्तुर छुटमा फ्रिक्वेन्सी पाउनेछन् र उक्त समयपछि फ्रिक्वेन्सी र प्रयोग गरिएका उपकरण प्राधिकरणलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरण बोर्डले टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उक्त फ्रिक्वेन्सी टेलिकमले परीक्षण अवधि सकिएपछि भने प्राधिकरणलाई नै फिर्ता गर्नुपर्नेछ ।बोर्डको निर्णयसहितको पत्र प्राधिकरणले टेलिकमलाई दिएपछि फाइभजी परीक्षणको तयारी थाल्नुपर्नेछ । टेलिकमले यसअघि काठमाडौँ, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्