Logo
१७ मंसिर २०७८, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरधन राईले एमाले सचिवमा उम्मेदवारी दिने घोषणा

 एमालेको १०औँ महाधिवेशनमा एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । त्यसै अनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्