Logo
८ बैशाख २०८१, शनिबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा २२ वर्षीया युवतीको हत्या आरोपमा श्रीमान् पक्राउ

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा २२ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ५ तेनुहवाकी २२ वर्षीया युवती बन्दना पासीको हत्याको आरोपमा उनका श्रीमान्लाई पक्राउ परेका हुन् ।

शवलाई ट्याक्टरमा राखेर अन्तिम संस्कारका लागि लैजाँदै गरेको अवस्थामा देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । मृतकको ढाडको १२ ठाउँमा घाउचोट देखिएकाले श्रीमान् गणेश पासीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भने ‘निधारमा कोतरिएको र ढाडको १२ ठाउँमा बोधो वस्तुले प्रहार गरेजस्तो घाउचोट देखिएकोले श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’।

मृतकका श्रीमान्सँगको सामान्य सोधपुछमा घरको भर्‍याङबाट लडेर मृत्यु भएको बताएका थिए । तर, घरको अवस्था हेर्दा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान्ले भर्‍याङबाट लडेर मृत्यु भएको बयान दिए पनि घरको अवस्था हेर्दा त्यस्तो देखिँदैन,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने, ‘मृतक र उनका श्रीमान् सुत्ने कोठामा सामानहरू यत्रतत्र छरिएको, मोबाइलको टुक्रा र फुटेका चुरा फुटेर छरिएको, मृतकका कपडा बोरामा हाली जलाउन लगिएको र बोरा भित्रको चुन्नीमा रातो रगत जस्तो पदार्थ लागेको थियो ।’

घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

मृतकको श्रीमानसँगै ट्याक्टरमा रहेका राजु पासी भने भागेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्