Logo
१५ चैत्र २०८०, बिहीबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सफाइ कर्मचारीले दुर्व्यवहार गरेको भन्दै वडाध्यक्षले लगाए मेयरको कार्यकक्षमा ताला

सफाई कर्मचारीले वडाध्यक्षलाई दुर्व्यवहार गरेको भन्दै सोमबार वडाध्यक्षहरुले जनकपुरधाम उपमहानगरपालिका मेयरको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले गालीगलौज गरेपछि नगरप्रमुख, सफाई कर्मचारीविरुद्ध नारावाजी गर्दै वडाध्यक्षहरुले मेयरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष तथा वडासदस्यहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका छन् ।दुर्व्यवहारमा परेका वडाध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकोले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दै मरेको गाईलाई हटाउनुको साटो आफुलाई दुर्व्यवहार गरेको बताए ।

उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको अवस्थामा थियो । मैले सफाइ कर्मचारीलाई फोन गर्दा फोनमा कुरा गर्दा फोनमै गाली गर्नुभो । कार्यालयमा आउँदा म सँग नै दुर्व्यवहार गर्नुभो, विभिन्न अपशब्दहरु प्रयोग गर्नुभो ।’

उनले नगर प्रमुख साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले बाध्य भएर ताला हानेको बताए ।

वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहले सफाईको लागि नै उपमहानगरपालिकामा ताला लगाएको बताए । उनले सफाईको लागि पाँच महिना अघि हस्ताक्षर सहित निवेदन दिएपछि त्यसमा अहिलेसम्म कुनै सुनुवाई नभएको बताए ।

उनले सफाइको लागि जहिले पनि ट्याक्टर माग्दा कर्मचारीहरुबाट दुर्व्यवहार हुनेगरेको दावी गरे । उनले वडाध्यक्ष सिंहमाथि भएको दुर्व्यवहार मेयरकै इशारामा भएको बताए ।

तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए ।

वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए ।भ्रष्टाचारी मेयर मुर्दाबाद, सफाइ कर्मचारी मुर्दाबाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारिज गर लगायतका नारा लगाएका थिए ।

जनकपुरधाम नगरक्षेत्रमा फोहर नउठदा महिनौँ देखि नगर दुर्गन्धित रहेको छ ।

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्