Logo
२६ आश्विन २०८१, शनिबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रचण्डको प्रतिबद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

आज बृहत् शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षका अवसरमा प्रेस वक्तव्य जारी प्रचण्डले सो कुरा बताएका छन् । उनले प्रेस वक्तव्यमा भनेका छनु, ‘माओवादीले नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।’

उनले संविधानसभावाट संविधान, सोको कार्यान्वयनकानिम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरुले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्थामा नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत रहेको बताएका छन् ।

उनले संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरुले पनि आफनो ठाउमा मानवअधिकार र शान्तिकालागि आफनो भुमिका निर्वाह गरिरहेको बताएका छन् ।

‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ ।यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ ‘ वक्तव्यमा उल्लेख रहेको छ ।

प्रचण्डले सहिद तथा वेपत्ता परिवार, घाईते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तराष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुगोमा पुराउन र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्धता गरेका छन् । ।

साथै शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं। १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापुर्वक सम्पन्न गरिसकेको पृष्ठभुमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि उनले विश्वस्त पारेका छन् । प्रचण्डले आजको यस ऐतिहासिक दिनमा प्रतिवद्धता पुरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्