Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीति दलको उम्मेदवार बनेका पत्रकारलाई राजीनामा दिन महासंघको आग्रह

राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन नेपाल पत्रकार महासङ्घले आग्रह गरेको छ ।

पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासङ्घले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

पत्रकार महासङ्घको महासचिव रोशन पुरीले आज विज्ञप्तिमार्फत भनेका छन्, ‘महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासङ्घ आग्रह गर्दछ।’

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासङ्घले महासङ्घको कार्यकारी पदमा बहाल रहेको अवस्थामा पनि कुनै दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासङ्घको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको बताएको छ ।

अहिले महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी अहिले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् । यसरी दलीय राजनीतिमा सहभागी भएकाहरूलाई महासङ्घ छाड्न आग्रह गरिएको महासङ्घले बताएको छ ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्