Logo
११ बैशाख २०८१, मंगलबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगंजबाट लाली मेहता र वीरेन्द्र केएमको एउटै पदमा उम्मेदवारी, श्यामलाल मेहता सबैमाथी भारी

मंसिर ३ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको बिभिन्न अधिवेशनहरु नजिकिएसँगै रोचक रूपमा उम्मेदवारीहरु पर्न थालिएको छ ।

सुनसरी क्षेत्र नम्बर २ का लागि यसपटक देवानगंज गाउँपालिका निर्णयक बन्ने भएको छ भने यस पालिकाबाट ३ जना चर्चित ब्यक्तिहरु मुख्य उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रेका छन् ।

सुनसरी क्षेत्र नम्बर २ मा यसपाली पहिलोपटक दक्षिणीभेगले कार्याकारी पद सहित विभिन्न महत्वपूर्ण जिम्मेवारीहरु पाउन लागेका हुन् ।

देवानगंजदेखि इटहरीसम्म गरी पुरै क्षेत्रभरी ८८० क्षेत्रीय प्रतिनिधिहरु रहेका यस क्षेत्रको दक्षिणीभेगमा साढे ४ सय क्षेत्रीय प्रतिनिधिहरु रहेका छन् । राजमार्ग उत्तरलाई उत्तरी क्षेत्र र राजमार्ग दक्षिणलाई दक्षिणीक्षेत्र भनिन्छ ।

त्यस्तै १७९ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) रहेका देवानगंजबाट श्यामलाल मेहता, लालीप्रसाद मेहता र वीरेन्द्रकुमार मेहता (केएम) गरी ३ मुख्य उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

त्यसैगरी रफुल अंसारी (मुस्लिम कोटा), कुन्तीदेवी यादव (महिला कोटा), बिभा यादव (महिला कोटा) लगायतका उम्मेदवारहरु पनि उम्मेदवारी दिने बताईएको छ ।

२४ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका पुरै क्षेत्रभरबाट १०० बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

श्यामलाल मेहता प्रदेशसभा क्षेत्र २ को (२) का सभापति उम्मेदवार हुन् भने हाल देवानगंज गाउँपालिका अध्यक्ष समेत रहेका लालीप्रसाद मेहता र पत्रकारिताबाट राजनीतिमा आएका अन्तराष्ट्रिय स्तरका स्थापित कुटनैतिक पत्रकार वीरेन्द्रकुमार मेहता (केएम) प्रतिनिधिसभा क्षेत्रका महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् ।

हाल क्षेत्रीय सभापति समेत रहेका श्यामलाल सुनसरी जिल्लाकै सबैभन्दा भारी उम्मेदवार हुन् । पछिल्लोपटक उनी साझा उम्मेदवार बन्न पुगेका छन् । उनका प्रतिद्वन्दीका रूपमा अन्य उम्मेदवार चुनावी मैदानमा रहेका छैनन् ।

यद्यपि इनरुवाका चिरञ्जीवी बस्नेत र इनरुवा अन्तरगतकै बबियाका श्यामदेव मेहताले यसअघि श्यामलालको विरुद्धमा उम्मेदवारी दिने घोषणा गरिएपनि पार्टी भित्रको कुनैपनि लाइन-लविले बस्नेत र श्यामदेवलाई आफ्नो आधिकारिक उम्मेदवार नबनाएपछि श्यामलाल साझा उम्मेदवार बन्न पुगेका हुन् ।

संघीय क्षेत्रमा जम्मा ३० ओटा वडा पर्दछ भने ८८० जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् । यस क्षेत्रमा कोइराला लाईन भारी मज्बुत छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र अन्तरगत देवानगंज सुनसरी २ को (२) मा पर्दछ । यस क्षेत्रमा विभिन्न पालिकाहरुको गरी जम्मा १८ ओटा वडामा कांग्रेसका ५७० जना क्षेत्रीय प्रतिनिधिहरु छन् । बबिया, गौतमपुर र देवानगंजमा गरि मात्र साढे ३ सय मत रहेका छन् ।

प्रकाशित मिति: Nov 13, 2021

प्रतिक्रिया दिनुहोस्