Logo
११ बैशाख २०८१, मंगलबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरुङ मार्ग निर्माण गरेरै पनि भएपनि त्रिवेणी-दुम्किबास सडक बनाउँछौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङ मार्ग निर्माण गरेरै पनि त्रिवेणी-दुम्किबास सडकखण्ड सञ्चालन गरिने बताएका छन् ।

गृह जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण वैकल्पिक तरिका अपनाएर भए पनि उक्त सडक विस्तार गरिने बताएका हुन् ।

स्थलमार्ग बनाउन नपाए सुरुङ मार्ग या फ्लाइओभर बनाएर पनि सडक विस्तार गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

नेपाललाई उत्तर-दक्षिण जोड्ने छोटो र उपयुक्त सडक त्रिवेणी–कोरला सडक भएकाले त्रिवेणी–दुम्किबास जोड्ने सडकका विषयमा चासो दिनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाइएको उनको भनाइ थियो ।

विसं २०६२ मा ट्र्याक निर्माण गरिएको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्जले अवरोध गरेका कारण जिल्लावासीहरू त्रिवेणी जानका लागि लुम्बिनी प्रदेशको बर्दघाट भएर जानुपर्ने बाध्यता छ ।

त्रिवेणी–कोरला सडकलाई प्रदेशको गौरव आयोजनामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले चीनबाट भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्त्वपूर्ण हुने जिकिर गरे ।

त्रिवेणीबाट दुम्किबाससम्म २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्र निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कोरला–त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदै आएको छ ।रासस

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्