एमालेको महाधिवेशन प्रतिनिधि छनोट कात्तिकमा २६ गते हुने
नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट कात्तिकमा २६ गते गर्ने भएको छ ।
केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । स्थायी कमिटीले १ हजार ५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो ।
तर केन्द्रीय कमिटीमा नेताहरुले भने संख्या बढाउन माग गरेका छन् ।बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको संख्या बढाउन माग गरेका छन् ।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले आसन्न दशौं महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो ।
भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।
स्थायी कमिटीले निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।